काठमाडौँ । कर्णालीका हिमाली जिल्लामा भारी हिमपातपछि सडक अवरुद्ध हुँदा प्रतिनिधिसभा निर्वाचनका सामग्री र कर्मचारी हेलिकोप्टरमार्फत पठाउन थालिएको छ। फागुन २१ गतेको निर्वाचन सुनिश्चित गर्न दुर्गम बस्तीहरूमा हवाई ढुवानी सुरु गरिएको हो।
कर्णाली प्रदेश अन्तर्गतका डोल्पा जिल्ला र हुम्ला जिल्लाका उच्च हिमाली मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको हो।
डोल्पाको डोल्पोबुद्ध (६ केन्द्र), छार्काताङसोङ (६ केन्द्र) र शेफोक्सुण्डो (११ केन्द्र) गाउँपालिकामा शनिबारदेखि सामग्री पठाउन थालिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्। त्यस्तै, हुम्लाको नाम्खा गाउँपालिकाका ४ मतदान स्थलमा पनि हेलिकोप्टरमार्फत सामग्री र कर्मचारी ढुवानी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।
नाम्खा–६ अन्तर्गत हिमालपारिको लिमी क्षेत्रका जाङ, हल्जी, तील र वडा–४ को चाला मतदान केन्द्रमा मतपत्रसहित कर्मचारी पठाइँदैछ। हिमपातले यातायात ठप्प भएपछि चार केन्द्रमा २० कर्मचारी र सुरक्षाकर्मीसमेत गरी १०२ जनालाई हवाईमार्गबाटै पठाइने जनाइएको छ।
यता, हिल्सा–सिमकोट सडकखण्डसहित न्यालु क्षेत्रका सडक खुलाउन प्रयास थालिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए। मतदाताको आवतजावत सहज बनाउन स्काभेटर प्रयोग गरी सडक खुलाउने काम जारी छ।
यद्यपि, स्थानीयका अनुसार अधिकांश मतदाता जिल्ला बाहिर वा चीनको ताक्लाकोट क्षेत्रमा रहेकाले मतदानमा सहभागिता चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।