काठमाडौँ ,सहकारीको करिब १५ करोड रकम काङ्रेस नेता धनराज गुरुङ र उनकी पुर्व श्रीमती ज्योति गुरुङमार्फत ठगी गरेको आरोप लागेपछि अहिले आफूलाई केही थाहा नभएको धनराजले बताएका छन् । सरकारी रकम अपचलनमा मुछिएको चर्चा चुलिएपछि नेपाली कांग्रेसका उपसभापति समेत रहेको नेता धनराज गुरुङले श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् । एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकोले नाम जोड्नु गलत भएको उनको भनाई छ ।
उनले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’
उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।
’
धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिएको पाईएको थियो । ज्योति अहिले फरार छिन् । यो बिषय हिजो संसदमा पनि उठेको छ । रास्वपाका सांसद गणेश पराजुलीले संसदमा यो बिषयमा प्रश्न गरेका छन् । पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका छन् । करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए । धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ ।
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीको अभियोग उनीमाथि छ । उनकी पत्नी ज्योती गुरुङ सो सहकारीकी उपाध्यक्ष थिइन् । उनी उपाध्यक्ष हुँदा सहकारीको १५ करोड हिनामिना भएको हो । हाल सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले नै धनराज र ज्योतीविरुद्ध सिआइबीमा उजुरी दिएका छन् । स्याङ्जाको अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ । सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।