काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो ।
समग्रमा यो साता बजार १९ अंक अर्थात ०.९६ प्रतिशत घट्यो । गत साता २०६८.९ अंकमा बन्द भएको नेप्से यो साता २०४९ अंकमा झरेर बन्द भएको छ । गत साता १.९४ प्रतिशतले बजार घटेको थियो । यो साता बजारको गिरावट केही हदसम्म थामिएको छ ।
यो साता जीवन बीमा समूहमा भारी गिरावट देखिएको छ । सो समूह ५.०५ प्रतिशत घट्यो । जीवन बीमाका अलवा बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र अन्य समूह घटे ।
तर बजार घट्दा पनि हाइड्रोपावरसहितका ४ समूह बढे । गत साता सबै समूह घट्दा हाइड्रोपावर समूह सबैभन्दा कम ०.२० प्रतिशतले मात्रै घटेको थियो । उत्पादन र व्यापार समूह पनि बढे ।