Shares
Shares
काठमाडौँ । भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुर सहरका भित्ताहरू केही समययता एउटा विज्ञापनले रंगिएको छ। हुन त सहरको भित्ता विज्ञापनले रंगिनु ठूलो कुरा होइन। त्यसमाथि भारतमा हुने विज्ञापनलाई लिएर हामीले चासो राख्नुपर्ने कुनै कारण थिएन।
तर गोरखपुरको भित्ता रंगाउने विज्ञापन यस कारण हाम्रो चासोको विषय बन्यो, किनभने त्यो नेपाली ब्रान्ड हो। गत वर्ष असार अन्तिम साताबाट भारतीय बजारमा निर्यात गर्न थालेको अर्घाखाँची सिमेन्टले त्यहाँका उपभोक्तालाई लक्षित गरेर हिन्दी भाषामा प्रचारप्रसार अभियान सुरू गरेको छ। पहिलो चरणमा भित्ते विज्ञापन गरिएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका बताउँछन्। कम्पनीले 'अर्घाखाँची सिमेन्ट- सपनोंका नयाँ निर्माण' भन्ने हिन्दी ट्यागलाइन प्रयोग गरेको छ। यो ट्यागलाइन नेपालीबाट अनुवाद गरिएको हो। 'जसलाई आफ्नो उत्पादनप्रति बढी विश्वास हुन्छ, उसले जनतालाई धेरैभन्दा धेरै जानकारी गराउन खोज्छ। प्रचारप्रसारमा लगानी गर्छ र विज्ञापन बढाउँछ,' मुरारकाले भने, 'हामी पनि भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै गएपछि थप बजार विस्तारको योजनाअनुरूप प्रचारप्रसारमा लागेका हौं।'
मुरारकाले भारतमा विज्ञापन गर्ने निधो गरेपछि त्यसको जिम्मा उताकै डिलरहरूलाई दिएका थिए। डिलरहरूले थुप्रै विकल्पमा काम गरे। नेपालमा 'अर्घाखाँची' भन्ने शब्द सजिलै बोलिए पनि भारतीयहरूलाई उच्चारण गर्न गाह्रो पर्यो। उपभोक्तालाई बुझ्न सजिलो होस् भनेर डिलरहरूले एसियन सिमेन्टका रूपमा मार्केटिङ गर्ने कि भन्ने प्रस्ताव ल्याए। तर मुरारकालाई चित्त बुझेन। 'हाम्रो ब्रान्डको नाम सजिलै उच्चारण गर्न सकिँदैन भनेर अर्कै नामबाट मार्केटिङ गर्ने आइडिया मलाई मन परेन। उच्चारण गाह्रो होला, तर यही कठिनाइलाई हामीले आफ्नो शक्तिमा बदल्नुपर्छ भन्ने मैले ठानेँ,' मुरारकाले भने, 'मैले सोचेँ — उनीहरूले उच्चारण गर्न नसकेर के भो त! सुरू सुरूमा ये क्या नाम है भनेर हाँस्लान्! ऐसा भी कोई सिमेन्ट होता है भनेर बेवास्ता पनि गर्लान्! पछि यही कठिन नामबाट हाम्रो राम्रो पब्लिसिटी हुनेछ।'
उनले अगाडि भने, 'जुन कुरा मान्छेलाई अनौठो लाग्छ, त्यसले उसको ध्यान पनि तान्छ। हाम्रो नाम भारतीय उपभोक्ताका लागि अनौठो थियो, त्यसैले यही नामले उनीहरूको ध्यान तान्छ भन्नेमा म विश्वस्त थिएँ।' मुरारकाको विश्वास सही साबित भइरहेको छ। भित्ते विज्ञापनपछि भारतीय बजारमा आफ्नो उत्पादनलाई लिएर छिटो र धेरै प्रभाव परेको मुरारका बताउँछन्। 'विज्ञापन सुरू गरेपछि अहिलेसम्म आएको प्रतिक्रियाले हामी उत्साहित छौं। आगामी दिनमा थप भित्ता रंगाउने योजना छ,' उनले भने। अर्घाखाँची सिमेन्टले भारतीय टेलिभिजन च्यानलहरूमा पनि विज्ञापन सुरू गर्ने तयारी गरिरहेको छ। 'भारतमा सबभन्दा बढी प्रभाव पार्ने टेलिभिजन विज्ञापन हो,' उनले भने, 'त्यसैले त्यहाँका टेलिभिजनमा हाम्रो सिमेन्टको विज्ञापन प्रसारण गर्ने तयारी गर्दैछौं। यसका लागि भारतका प्रसिद्ध कलाकारहरूलाई नै ब्रान्ड एम्बेस्डर बनाउने योजनामा छौं।' अर्घाखाँची सिमेन्ट मात्र होइन, भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्न थालेपछि अन्य नेपाली उत्पादकहरू पनि विज्ञापन गर्न हौसिएका छन्। सर्वोत्तम सिमेन्ट त्यसैमध्ये एक हो। सर्वोत्तमका बजार व्यवस्थापक गोपाल सारडाले भित्ते पेन्टिङबाटै प्रचारप्रसार सुरू गर्न लागेको जानकारी दिए।
'केही समयमै भारतीय बजारहरूमा सर्वोत्तम सिमेन्टको विज्ञापन देखिन थाल्नेछ। हामी वाल पेन्टिङबाट सुरू गर्ने योजनामा छौं,' उनले भने। सर्वोत्तमले पछिल्लो तीन महिनादेखि भारतमा सिमेन्ट बेच्न सुरू गरेको हो। पाल्पा सिमेन्टले गत वर्ष असार २४ बाट भारतमा सिमेन्ट पठाउन थालेको थियो। यही क्रममा अर्घाखाँची सिमेन्टले गत वर्ष असोज ३१ बाट निर्यात सुरू गर्यो। पाल्पा, अर्घाखाँची, सर्वोत्तमसहित हालसम्म बाहुबली, श्रृष्टि, सिजी ब्रान्डका नेपाली सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन्। पछिल्लो समय भारतीय बजारमा नेपाली सिमेन्टको माग लगातार बढ्दै गएको छ। गत आर्थिक वर्षभरि नेपालबाट जति सिमेन्ट निर्यात भएको थियो, यो आर्थिक वर्षका तीन महिनामा त्यति नै सिमेन्ट निर्यात भइसकेको छ। नेपाली सिमेन्टको भारत निर्यात २०७९ असारबाट सुरू भएको थियो। २०८० असारसम्म आइपुग्दा करिब ७८ करोड रूपैयाँको निर्यात भयो। त्यसयता २०८० साउनदेखि असोजसम्म ८५ करोड रूपैयाँभन्दा बढीको निर्यात भइसकेको छ। यसपालि असोजमा मात्रै कुल निर्यातमा सिमेन्टको हिस्सा तीन प्रतिशत पुगेको छ। जबकि गत वर्ष असोजमा समग्र निर्यातमा सिमेन्टको हिस्सा ०.०१ प्रतिशत मात्रै थियो।
चालु वर्षको साउन र भदौमा ४१ करोड ८४ लाख रूपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा निर्यात भएको छ। असोज एक्लो महिनामै ४३ करोड ४५ लाख रूपैयाँको निर्यात भएको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-भदौ-असोज) को तुलनामा यो वर्ष यही अवधिमा ४१ गुणा बढी निर्यात भएको छ। सरकारले गत वर्ष बजेटबाट सिमेन्ट निर्यातमा नगद अनुदान र बिजुली प्रयोग गर्दा शुल्क छुटका योजना ल्याएसँगै निर्यात बढेको व्यवसायीहरू बताउँछन्। अहिले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ।
निर्यात वृद्धिले उत्पादकहरूको मनोबल बढेको छ। उनीहरू थप बजार विस्तार गर्न भारतमा आक्रामक ढंगले विज्ञापन गर्ने तयारीमा छन्। यसका लागि भारतीय टेलिभिजन च्यानलको विज्ञापनमा प्रवेश गर्न चाहन्छन्। तर मुद्रा सटहीको समस्याले कठिनाइ भइरहेको उनीहरू बताउँछन्। 'हाम्रो उत्पादनको माग बढाउन विज्ञापन बढाउनुपर्छ। यसका लागि खर्च लाग्छ। तर एक लाखभन्दा बढीको मुद्रा सटहीका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ,' एक सिमेन्ट उत्पादकले भने, 'राष्ट्र बैंकले सहज स्वीकृति नदिएसम्म हामीले रहर गरेर पनि विज्ञापन दिन सक्दैनौं।'यसमा अलि लचिलो हुने हो भने आक्रामक विज्ञापनबाट भारतमा बजार विस्तार गर्न सकिने सिमेन्ट उद्योगीहरू बताउँछन्। 'राम्रो प्रचारप्रसार गर्न सकियो भने समग्र नेपाली सिमेन्टको भारत निकासी अहिलेभन्दा वृद्धि हुन सक्ने व्यवसायीहरु बताउछन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209