काठमाडौँ । असोज महिनामा रेमिट्यान्सले नयाँ रेकर्ड राखेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा नेपाल भित्रिएको सबैभन्दा धेरै रकम हो । अर्थातः विप्रेषय आप्रवाहमा कीर्तिमान बनेको छ । विप्रेषण आप्रवाह वृद्धि हुन थालेको अघिल्लो आर्थिक वर्ष २०७९/८० बाटै हो । उक्त आवको एक वर्षको अवधिमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएर वार्षिक कीर्तिमान बनेको थियो । अर्थात मासिक १ खर्ब माथि रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्स बढ्दा विदेशी विनियम सञ्चिती बढेर करिब साढे १६ खर्ब पुगेको छ । रेमिट्यान्समा वृद्धिले नै बाह्य क्षेत्र बाउन्स ब्याक भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । रेमिट्यान्सको बढ्दो आप्रवाहले वर्तमान आशलाग्दो देखिए पनि विदेश जानेहरुको बढ्दो संख्याले अनिश्चित भविष्यको संकेत गरिरहेको विज्ञहरु बताउँछन् । किनकी पछिल्लो वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा समेत कीर्तिमान बनेको छ । आर्थिक वर्ष २०७९/८० (२०७९ साउनदेखि २०८० असार) मा इतिहासमै सर्वाधिक संख्यामा नेपाली विदेश गए ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यस वर्ष कुल ७ लाख ७१ हजार ३२७ जना युवा कामको खोजिमा विदेशिएका थिए । रेमिट्यान्स बढ्नुका पछाडी गत आर्थिक वर्षमा कीर्तिमानी संख्यामा विदेश पुगेका नेपालीले अब घरमा रकम पठाउन थाले भन्ने बुझिन्छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय जनसंख्या अध्ययन विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङ मासिक डेढ खर्ब रेमिट्यान्स भित्रँदा समेत खुसी हुनु पर्ने कुनै कारण नभएको बताउँछन् । ‘यो विदेशमा नेपाली दाजुभाइले गास काटेर सञ्चित गरी पठाएको रकम हो’ उनी भन्छन्, ‘यो खुसीको आम्दानी होइन, बाध्यताको हो ।’ मुलुकको नेतृत्व गर्नेहरुलाई भविश्यको चिन्ता नहुँदा यो अवस्था आएको उनको विश्लेषण छ । मुलुकभित्र उद्योगपतिले उद्योग बेचेरे व्यापार थालेको उल्लेख गर्दै डा. गुरुङ भन्छन्, ‘हामी अत्यधिक परनिर्भर भयौं, यस्तो अर्थतन्त्र भएको मुलुकमा रोजगारी सिर्जना हुँदैन, विदेशिनुको विकल्प छैन ।’
चीन, भारत लगायतका मुलुकले विगतमा यसै अवस्थाबाट गुज्रिएपनि आज धेरै सुधार गरेको उनको भनाइ छ । नेपालले आफ्नो सम्भावना भएको क्षेत्र पहिल्याएर त्यसमा आत्मनिर्भर बन्न थाल्ने र त्यसका लागि आवश्यक वातावरण राज्यले नबनाएसम्म यहाँ भविश्य देख्ने युवा पाउन कठिन हुने उनी बताउँछन् । वरिष्ठ अर्थ–राजनीतिक विश्लेषक हरि शर्मा पनि ‘नेपालमा केही पनि हुँदैन’ भन्ने भाष्य स्थापित हुँदा शारीरिक वा बौद्धिक श्रमका लागि विदेश पलायन हुनु परेको बताउँछन् । उनी भन्छन्, ‘विदेश जान विमानस्थल पुग्ने युवा होस् वा उसलाई छाड्न पुग्ने आफन्त, कोही पनि खुसी छैनन्, ढुक्क छैनन्, किनकी उसलाई थाहा छ कि उसको भविश्य विदेशमा पनि अनिश्चित छ ।’ यस्तो अवस्थामा नेपालमा युवाले सम्भावना देख्ने वातावरण गराउन नसक्नु विडम्बना भएको उनी बताउँछन् । रोजगारीका लागि विदेश जानेक्रमसँगै विदेशमै पलायन हुने क्रम वास्तवमै चिन्ताको विषय बनेको छ । बैदेशिक रोजगारीमा गएका अबका युवा फर्किने ग्यारेन्टी छैन ।’
नेपालबाट धेरै श्रमिकहरू जाने पाँच मुख्य मुलुकहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), मलेशिया, साउदी अरब, कतार र कुवेत छन्। जापान र दक्षिण कोरियामा पनि उल्लेख्य सङ्ख्यामा नेपालीहरू गइरहेका छन्। यो महिना रेमिट्यान्स ह्वात्तै बढ्नुमा "दुई-तीन कारण हुनसक्ने" अधिकारीहरू बताउँछन्। “एक त विदेश जाने नेपाली कामदारहरूको सङ्ख्या विगत एक वर्षमा उल्लेखनीय बढ्यो। त्यसको सोझो प्रभाव रेमिट्यान्स आयमा परेको छ। अर्को भनेको अधिकृत माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्ति बढेको हुनसक्छ । सन् २०२० र २०२१ मा कोभिड महामारीले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निकै घटेको थियो। “तर कोभिडपछि जसरी गत वर्ष लामबद्ध भएर ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिए त्यसको परिणामस्वरूप नै रेमिट्यान्समा वृद्धि,”भएको सम्बन्धित स्रोतको भनाइ छ