Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दसैँको मुखमा चिनी र जिरा अभाव/ २ किलो चिनी किन्न साल्ट ट्रेडिङमा घण्टौं लाइन

दसैँको मुखमा चिनी र जिरा अभाव/ २ किलो चिनी किन्न साल्ट ट्रेडिङमा घण्टौं लाइन

काठमाडौँ । हिन्दुहरुको महान पर्व दशैँ सुरु भैसकेको छ । नवारात्रीको आज चौथो दिन ।घरमा मिठा मिठा परिकार बनाएर ,आफन्त इस्टमित्र भेला भएर सुख दुख साट्ने पर्व हो यो । अझ दसैँ भनेपछि नया नोट र नया लुगा छुट्नै भएन ।

यसकारण हाम्रो भान्सा अरुबेलामा भन्दा चाडपर्वको बेला निकै बास्नादार बन्छ । मिठा गुलिया परिकार धेरै मात्रामा खाईन्छ । त्यसैले दसैमा मसला र चिनी अधिकतम मात्रामा खपत गर्छौ हामि । तर यतिबेला तपाईको भान्सामा चिनि सकियो र किराना पसल जानुभयो भने तपाइले चिनी पाउनुहुन्न । किनकि व्यापारीहरुले बजारमा चिनी अभाव छ भनीदिन्छन् र अलिअलि भएको पनि कालोबजारी गरेर बेचिरहेका छन् ।

अहिले बजारमा चिनी र मसालाको अभाव र चर्को मुल्यवृद्दीले उपभोक्ता मारमा परेका छन् । दसैं-तिहारका बेला बढी प्रयोग हुने वस्तुमध्येमा पर्छन् चिनी र जिरा । तर, यिनै वस्तुको बजारमा अभाव छ । दुई किलो चिनी लिन साल्ट्र ट्रेडिङमा घण्टौं लाइनमा बस्नुपर्ने स्थिति छ । जिरा, मरिच र छोकडाको त खुला बिक्री नै बन्द भएको छ । दसैं नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका लागि १२ वटा टोली खटाएको छ । टोलीले बजार निगरानी गरिरहेको विभागको दाबी छ । तर, उपभोग्य सामग्रीको कालोबजारी र कृत्रिम अभाव भने रोकिएको छैन । यतिखेर उपभोक्ताले चिनी, जिराजस्ता अत्यावश्यकीय वस्तु नै नपाउने अवस्था सिर्जना भएको छ ।

एक महिना अघिसम्म एक सय रुपैयाँमा पाईने चिनीको मूल्य १५० रुपैयाँसम्म पुगेको छ । त्यस्तै ६ महिना अवधिमा ४५० को जिरा होलसेल बजारमै १,२५० पुगेको छ । चिनी र जिरा मात्रै होइन सरकारले आयातमा रोक लगाएका तर बजारमा खुल्लमखुला बिक्री भइरहेका मरिच, छोकडा र सुपारीको मूल्यसमेत उकालो लागेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाको भनाइ छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा बढेको भन्दै व्यापारीहरुले रहर दालको मूल्य एक सातामै २० रुपैयाँले बढाएका छन् । बजार यसरी अनियन्त्रित हुनुमा सरकारको आपूर्ति नीतिमै समस्या मुख्य कारण रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर स्वीकार्छन् ।

साल्ट ट्रेडिङले चाडपर्वलक्षित गरी भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्न गत असारमा सरकारसँग अनुमति मागेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतिका लागि साउन ४ गते अर्थ मन्त्रालयमा पठाए पनि अर्थले भदौ २९ मा मात्रै ५० प्रतिशत भन्सार छुटमा चिनी आयातको अनुमति दिएको थियो । अनुमतिमा भएको ढिलाइकै कारण समयमै आयात गर्न नसक्दा चिनी अभाव भएको साल्ट ट्रेडिङको भनाइ छ । कम्पनीले हाल मौज्दात रहेको चार सय टन चिनी उपभोक्तालाई दुई किलोका दरले बिक्री गर्दै आएको छ । चिनी अभाव भएपछि सरकारले उद्योगीसँग पाँच सय टन चिनी पैंचो मागे पनि पाउन सकेको छैन ।

गत वर्ष पनि दशैंको मुखैमा बजारमा चिनीको हाहाकार भएको थियो । सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कार्यालयको भण्डारणमा चिनी रित्तिएपछि बजारमा चिनीको मूल्य बढाइएको थियो । यस वर्ष पनि चिनीको कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको छ । बजारमा चिनी छ वा छैन, कति दिनलाई मौज्दात पुग्छ भन्ने विवरण सरकारसँग छैन । नेपालमा १० वटा चिनी मिलहरुले चिनी उत्पादन गर्छन् । मुलुकभित्र हरेक वर्ष एक लाख टन चिनी उत्पादन हुने संघको भनाइ छ । उनीहरुको उत्पादनबाहेक हरेक वर्ष करिब एक लाख टन चिनी भारतबाट नेपाल आयात हुने गरेको छ । अर्कातिर, होलसेल व्यापारीहरुले चिनी लुकाएपछि त्यसको कारोबार नै गर्न नसक्ने अवस्थामा पुगेको नेपाल खुद्रा व्यापार संघले जानाएको छ ।