काठमाडौँ । के तपाईले अफलाईन पठाओ वा इनड्राइभ गर्नुहुन्छ ? अथवा के तपाई अफलाइन यात्रा गर्नुहुन्छ ? यदि यस्तो गरिरहनु भएको छ भने अब ख्याल गर्नुहोस् नत्र प्रहरीको फन्दामा पर्न सकिन्छ । हामीलाई कहिँ कतै जान हतार भयो / मोबाइलमा नेट टिपेन भने बाटोमा उभिरहेको अवस्थामा बाईक वा स्कुटर चालक आएर पठाओ खोज्नुभाको हो भनेर सोधियो भने हामि निशंकोच हो भन्छौ र बाईकमा बसिहाल्छौ । किनकि हामीलाई हतार भैरहेको हुन्छ । तर यहि हतारै हतारमा हामीले हामि ठगिएको साथै आफ्नो ज्यानै समेत असुरक्षित हुने कुरा त सोच्न भ्याएकै हुदैनौ । पठाओ भनेर ढुक्क संग चडीहाल्छौ यहीकारण धेरै जना अपहरणमा परेको ,लुटिएको र बलात्कृत भएका समाचार हामीले सुनिरहेकी हुन्छौ । तर भनिन्छ नि जबसम्म आफुलाई पर्दैन कुनै कुराको मतलव हुदैन । यसकारण अबभने सतर्क रहनुहोला । अफलाइन यात्रा सकेसाम नगर्नुहोला । नत्र तपाई पनि अपाराधिको सिकार नबन्नुहोला भन्न सकिन्न ।
पछिल्लो समय चोक चोकमा बस्ने अनि बहिनि जाने हो ? दाई जाने हो भनेर सोध्ने चालकहरु प्रशस्तै भेटिन्छन् । किन मोबाईल खोल्नु / किन सरकारलाई कर तिर्नु / चोकमा बस्यो भने जतिपनि पठाओ खोज्नी मान्छे भेटिहाल्छन् भनेर चालक दर्ता नै नभएका मोटरसाइकल स्कुटर चालकहरु पठाओ भन्दै बसिरहेका हुन्छन् । यसकारण अपराधिक घटना बढिरहेको छ । यहि कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले अहिले चाडपर्व लक्षित चेक जाच गर्दा अधिकांस अफलाईन चालकहरु भेटिएका छन । ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट पनि जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ गरिएको सम्बन्धित स्रोतले बताएको छ । अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ।
सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्ति देखि सावधान हुनु आवश्यक छ। मोबाइल एपमार्फत् राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता बढ्छ। जसले गर्दा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन्। अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले स-प्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ। अफलाइन यात्रा गर्दा यात्रु मात्र हैन राइडर पनि असुरक्षित हुन्छन् । केहि समय अघि हात बाँधेर झाडीमा फालियो पठाओ राइडरलाई, मोटरसाइकल र मोबाइल लुट्ने दुई जना पक्राउ भनेर समाचार बाहिरिएको थियो । यसकारण यात्रु र राइडर दुवै सजग भएर अनलाइन यात्रा गर्न आवश्यक छ ।
पठाओले राइड सेयरिङ बीमा पनि सुरू गरेको छ। पठाओ एपमार्फत् सहजीकरण गरी उपलब्ध सेवाहरू प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरूको एक लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा दस लाखसम्म बीमा दाबी गर्न सकिन्छ। अफलाइन राइड लिँदा बीमा समेत सुविधा पाइँदैन।