काठमाडौं– नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट २३८ जना र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।
गत २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।
यो पनि पढ्नुहोस
भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा सुरक्षा बलले १४ जना सर्वसाधारणको हत्या गरेपछि तनाव बढेको छ । शुरुमा शनिबार साँझ सुरक्षा बलले आतंकवादी ठानेको भन्दै कोइला खानीमा काम गर्ने भनिएका ६ जना सर्वसाधारणको हत्या गरेको थियो ।
सुरक्षा बलले आतंकवादी ठानेर आक्रमण गरेको भनेपनि सर्वसाधारणले सेनाको दाबीलाई झुटो बताएका छन् । त्यसपछि शनिबार राति र आइतबार बिहान सुरक्षा बलले गोली चलाएपछि थप ८ जना सर्वसाधारण मारिएका थिए ।
यसरी १४ जना मारिएपछि सर्वसाधारणले विरोध प्रदर्शन गरिरहेका छन् । तर भारतीय अधिकारीहरूले प्रदर्शनलाई नियन्त्रण गर्न इन्टरनेट सेवाहरू बन्द गर्दै कर्फ्यू लगाएका छन् । घरेलु सुरक्षाको लागि जिम्मेवार भारतीय गृहमन्त्री अमित शाहले घटनामा गहिरो दुःख व्यक्त गरेका छन् ।
यस्तै नागाल्याण्ड राज्य सरकारले विशेष अनुसन्धान टोली (एसआईटी) को नेतृत्वमा उच्च स्तरीय छानबिन गर्ने बताएको छ । सेनाले पनि कोर्ट अफ इन्क्वारी बोलाएको छ ।
पछिल्लो समय नागाल्याण्डमा यस्ता घटनाहरु बढ्दै गएका छन् । भारतीय सुरक्षा बलहरूले यसअघि पनि त्यहाँका स्थानीयहरुमाथि यसरी कारबाही गरेको आरोप छ । पछिल्लो पटकको यो घटना नागाल्याण्डको मोन जिल्लामा भएको हो ।
नागाल्याण्ड भारतको सबैभन्दा पुरानो जातीय विद्रोहको ठाउँ हो । यहाँको सशस्त्र आन्दोलनले नागाल्याण्ड, आसाम, मणिपुर, अरुणाचल प्रदेश र म्यानमारका छिमेकी राज्यहरूका सबै नागा बस्ती क्षेत्रहरू समावेशसहितको सार्वभौम क्षेत्रको माग गर्छ ।