Shares
Shares
काठमाडौँ : अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो ।
सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु ठूलो संकटमा फस्न पुगेका छन् ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तत्काल सहायता रकम पठाइएन भने भोकमरीका कारण लाखौं मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छ ।
यसैबीच, बीबीसीले तयार पारेको एक भिडियो रिपोर्टमा पश्चिमी अफगानिस्तानको हेरात र वरपरका ग्रामीण क्षेत्रको अवस्था चित्रण गरिएको छ । बीबीसीकी योगिता लिमायले तयार पारेको उक्त रिपोर्टमा हेरातस्थित एमएसएफद्वारा सञ्चालित एक अस्पतालको दयनीय अवस्था देखाइएको छ ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ ।
तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।
‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने ।
१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।
बीबीसीको रिपोर्ट अनुसार विदेशी सहायता रोक्का भएपछि कम्तिमा १० लाख बालबालिका मृत्युको जोखिममा परेका छन् । एमएसएफको अस्पतालमा उपचार गराइरहेका बालबालिकाको अवस्था निकै दर्दनाक छ । अस्पतालका डाक्टर र नर्सले चार महिनादेखि तलब पाएका छैनन् । न स्वास्थ्य सामग्री किन्ने पैसा छ ।
हेरात वरपरका क्षेत्रमा अवस्था कल्पनै गर्न नसकिने खालको छ । त्यहाँका बासिन्दाहरु छाक टार्नका लागि कल्पनै गर्न नसकिने कार्य गर्न बाध्य छन् । भिडियोमा भोकमरीबाट परिवारलाई बचाउनका लागि एक शिशु बेचिएको उल्लेख छ ।
छाक टार्नकै लागि आफ्नी छोरी बेच्न बाध्य भएकी आमा भन्छिन्- ‘मेरा अन्य छोराछोरी भोकै मर्ने अवस्था आएपछि छोरी बेच्न बाध्य भयौं ।’
ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।
छोरी बेच्न बाध्य महिलाका पतिले फोहोर उठाउने काम गर्थे । तर हाल आम्दानीको यो स्रोत समेत बन्द भएको छ । ‘हामी भोकभोकै छौं’, छोरी बेच्न बाध्य बाबु भन्छन्, ‘हाम्रो घरमा न पीठो छ, न खाने तेल । हामीसँग केही पनि छैन ।’
‘मेरी छोरीलाई आफ्नो भविष्यबारे केही थाहा छैन,’ उनले थपे, ‘यो कुरा थाहा पाएपछि उनले के सोच्लिन् होला ? तर मैले यो काम गर्न बाध्य छु ।’
उक्त क्षेत्रमा आफ्ना सन्तान बेचेका अन्य बाबु-आमा समेत बस्छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209