काठमाडौं : फेसबुक डाउन हुँदा कम्पनीका संस्थापक मार्क जुकरबर्गले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । सोमबार राती सवा ९ बजेबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै पटक डाउन भएको थियो । झन्डै ६ घण्टापछि मात्रै सर्भिस सुरु भएको थियो । सामाजिक सञ्जाल फेसबुक तथा यसको अन्य एप इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर जस्ता सेवा करिब ६ घण्टा बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ ।
त्यसरी सबै सर्भिस एकै पटक डाउन हुँदा केही घण्टाभित्रै मार्क जुकरबर्गको कूल सम्पत्तिमा ५.९ बिलियन डलर अर्थात करिब ७ खर्बको गिरावट आएको छ । अमेरिकी सेयर बजारमा आएको गिरावटले यस्तो अवस्था सिर्जना भएको हो । सेयर बजारमा एकै दिन फेसबुकको मूल्य पाँच प्रतिशत घटेको छ ।
यसको असर विश्वका अर्बपतिको सूचीमा पनि देखिएको छ । जुकरबर्ग विश्वका अर्बपति सूचीमा दुई स्थान लत झर्दै छैटौँ स्थानमा पुगेका छन् । भने, उनको सम्पत्ति घटेर ११६.८ बिलियन डलर पुगेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ ।
फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको हो । अब जुकरबर्ग फोब्र्स म्यागजिनको अर्बपतिको सुचीमा छैटौँ स्थानमा झरेका छन्। योसँगै जुकरबर्ग विश्वकै अर्बपतिको सूचीबाट एक स्थान तल झरेका हुन्। फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ ।
सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म फेसबुक तथा यसको अन्य एपमा करिब ६ घण्टा समस्या आएको थियो । फेसबुकले प्रारम्भिक रुपमा यस समस्याबारेमा बोलेको छ ।
फेसबुकले आफ्नो राउटरमा गलत सेटिङ्ग भएको कारणले यो समस्या आएको जानकारी दिएकाे छ । सोमबार बेलुका आएको समस्यापछि फेसबुकले ट्वीटरमार्फत यसबारेमा जानकारी दिएको थियो । फेसबुक यो समस्या सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो समस्या हो । सन् २०१९ मा फेसबुक १४ घण्टा बन्द भएको थियो ।