Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायलको परीक्षामा दुई हजार बढी उत्तीर्ण , कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउने

इजरायलको परीक्षामा दुई हजार बढी उत्तीर्ण , कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउने

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि लिएको अंग्रेजी भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । विभागले आइतबार काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियोे । ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षा दिएको विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीले ओएमआर विधिबाट उतरपुस्तिकाको जाँच लिइएका कारण नतिजा छिटो प्रकाशन गरिएको बताए । इजरायलले लैजाने एक हजारमध्ये ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष लैजाने बताएको छ ।

अंग्रेजी भाषा परीक्षा उत्तीर्णहरूलाई असोज एक गतेबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक सीप विकास प्रतिष्ठान भैंसेपाटी ललितपुरमा अन्तर्वार्ता उचाई र तौल परीक्षण गरिने विभागले जनाएको छ ।

तोकिएको उचाई र तौल सम्बन्धी मापदण्ड पूरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । त्यस्तै तोकिएको कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुने विभागले जनाएको छ ।

इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर झन्डै १ लाख ९० हजार नेपाली रुपैयाँ हुनेछ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।