काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।
भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियो । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा परेको कारण बुधबार र बिहीबार थप दुई दिन पहिलो डोज बताए । भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।
यसैबीच, बुधबार देशभर २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन् । १५ हजार २९० जनाको कोरोना परीक्षणमा उनीहरू संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यीमध्ये काठमाडौंमा ५१५ जना छन् भने काठमाडौं उपत्यकामा बुधबार संक्रमित हुनेको संख्या ७४५ जना छन् ।
उक्त अवधिमा १ हजार ७८१ जना संक्रमणमुक्त भएको समेत मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ । बुधबारको कोरोना संक्रमण दर १९.२ प्रतिशत रहको बताइएको छ । सबैभन्दा उच्च कर्णालीमा ४६ प्रतिशत भएको मन्त्रालयले जानकारी दिएको छ ।