काठमाडौँ : जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको सरकारले जनाएको छ।
जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप ल्याएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।
‘कोरोना महामारी नियन्त्रण गर्न साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति कृतज्ञ छौं’, सोमबार सबै खोप आएकोबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले भनेको छ।
यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बताइएको छ।
जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो।
आज अन्तिम चरणमा बिहान ९:४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो।
१६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।
व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।