Shares
Shares
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो ।
पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी पनि उहाँले दिनुभयो । १८ देखि ३० वर्षका विद्यार्थीलाई केही दिनमै खोप उपलब्ध गराउने तयारी सरकारले गरेको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा आमुल परिवर्तनसहित सुधार गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरिब जनताको स्वास्थ्यमा पहुँच बढाउन पर्याप्त दरबन्दी विस्तारको खाँचो रहेको उहाँले बताउनुभयो । उमेर समूह र आर्थिक गतिविधि बढी हुने ठाउँमा खोपको उचित व्यवस्थापन गरिने उहाँले जानकारी गराउनुभयो ।
आउँदो दिनमा निजी क्षेत्रको साझेदारीबाट अघि बढ्ने कार्यक्रम सरकारले ल्याउने जानकारी दिनुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले विगत १९ महिनादेखि देश कोभिडले आक्रान्त भएकाले त्यो प्रतिकुलतालाई अन्त्य गरी जनजीवन सामान्य बनाउन सरकार लागिपरेको बताउनुभयो । गत एक हप्ताको आँकडा हेर्दा संक्रमण दर बढेकाले थप सतर्कताको खाँचो रहेको उहाँले बताउनुभयो । अहिले २५ प्रतिशतको दरले संक्रमण दर बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कोभिड १९ बाट ७ लाख बढी संक्रमित भइसकेको जानकारी दिनुहुँदै १० हजार १८० जनाले ज्यान गुमाइसकेको पनि मन्त्री श्रेष्ठले संसदलाई जानकारी गराउनुभयो । आगामी दिनमा प्राथमिकताअनुसार खोप उपलब्ध गराउने तयारी सरकारले गरेको पनि उहाँले बताउनुभयो । त्यस्तै, विद्यार्थीलाई पनि खोप लगाउने तयारी सरकारले गरेको उहाँले बताउनुभयो ।
देशभरी ९६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण अहिले भइरहेको जानकारी दिनुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भइसकेको उहाँले बताउनुभयो ।
अहिलेसम्म १ करोड ८ लाख ६० हजार १७० खोप प्राप्त भइसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने जानकारी उहाँले संसद बैठकलाई दिनुभयो । पहिलो मात्राको खोप लगाउने जनसंख्या ४५ लाख ७० हजार ५५३ जना, दुवै मात्रा खोप लगाउने जनसंख्या २८ लाख ८८ हजार ३६० रहेको पनि उहाँले बताउनुभयो । अहिले मौज्दात १ लाख ७३ हजार खोप केन्द्रमा मौज्दात रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
नेपालमा खोप उत्पादनका लागि तयारी भइरहेको जानकारी दिनुहुँदै राज्यमन्त्री श्रेष्ठले आजसम्म २ हजारलाई क्वीआर कोडको प्रमाणपत्र उपलब्ध गराइएको उहाँले बताउनुभयो । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले सम्पूर्ण ध्यान लगाएको पनि उहाँले जानकारी गराउनुभयो । खोप उपलब्ध गराउने सबै दातृ निकायलाई उहाँले सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
कोभिड तेस्रो लहर आउने खतरा कायमै रहेकाले सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि सबैजना सचेत हुनुपर्ने बताउनुहुँदै राज्यमन्त्री श्रेष्ठले सरकारको प्रयासलेमात्र कोभिड नियन्त्रणमा आउन नसक्ने बताउनुभयो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209