काठमाडौं : जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ।
जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो। जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो। बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ।यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो।
साउन २५ गते देखि सबै प्रदेशमा अस्ट्राजेनिका खोप अभियान संचालन गरिनेछ। भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सो भन्दा माथिलाई दिइनेछ।
अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई भोलीदेखि दिइने भएको छ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ । नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख खोप खरिद गरेको छ।
चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ ।
यसैगरी भारतबाट नेपाली सेनालाई एक लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।
यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।
यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।