Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगका उद्योगपतिको निजी लगानी रु एक करोड २८ को लागतमा अक्सिजन प्लान्ट बाहिरी देशबाट झिकाई एक महिनाभित्रै अस्पतालमा जडान गर्नेतर्फ पहल भइरहेको उद्योग सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ ११ गते अस्पताल र उद्योग सङ्घका बीचमा छलफल गरी बाह्य कुन मुलुकबाट अक्सिजन प्लान्ट खरीद गर्ने भन्ने विषयमा टुङ्गो लागेर खरीद गरी ल्याइने छ ।

त्यसैगरी उक्त अक्सिजन प्लान्ट हेटौँडा अस्पतालमा स्थापना गरी सबै वार्डमा पाइपमार्फत जडान गरी बिरामीलाई अक्सिजनको व्यवस्था गराउने तयारी भइरहेको पनि अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । वाग्मती प्रदेशका सिन्धुली, भक्तपुर, काभ्रे र धादिङ तथा नुवाकोटका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजित भई ती अस्पतालमा अहिले अक्सिजन प्लान्ट ल्याउने कार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्ला अस्पताललाई कोभिड सङ्क्रमणका बिरामीको उपचार सेवालाई प्रभावकारी तुल्याउने उद्देश्यले प्रदेश सरकारले ती अस्पताललाई भेन्टिलेटर, आइसियु कक्ष, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको तथा नपुग जनशक्तिलाई पनि अनुगमन टोलीको सिफारिसअनुसार दरबन्दी थप गरिँदै आएको प्रवक्ता सेढाईंले जानकारी दिनुभयो ।