Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वाथ्य मन्त्रालयलेनै दियो यस्तो गलत सुचना जसको कारण बिरामीलाई झन् गम्भीर बनायो(पढ्नुहोस)

स्वाथ्य मन्त्रालयलेनै दियो यस्तो गलत सुचना जसको कारण बिरामीलाई झन् गम्भीर बनायो(पढ्नुहोस)

कोरोना संक्रमितहरुले काठमाडौं उपत्यकाका अस्पतालहरुमा आईसीयू वा भेन्टिलेटर होइन, अक्सिजन बेडसमेत पाउन मुश्किल छ । भेन्टिलेटरकै खोजीमा कतिपय बिरामी हेलिकप्टरमार्फत पोखरा र झापासम्म पुगेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मात्र कोभिड–१९ का बिरामीका लागि बेड खाली रहेको सूचना निकाल्यो । अस्पतालको क्षमता र बिरामीको संख्याको सूची नै दिएको छ, जसअनुसार उपत्यकाका १९ वटा अस्पतालमा गरी ७५० आइसोलेसन बेड, २२१ आईसीयू बेड र ६९ भेन्टिलेटर खाली छन् ।

मन्त्रालयकै सूचनाका आधारमा, बेडको खोजीमा भौंतारिरहेका संक्रमितका आफन्तले अस्पतालमा फोन गरेर बेड खोजेका छन् । तर पाउन सकेका छैनन् किन यस्तो भयो त ? अस्पतालका अधिकारीहरु भन्छन्, मन्त्रालयको सूचना गलत छ ।’

जस्तो, मन्त्रालयको तथ्यांकअनुसार भक्तपुर अस्पतालमा ८३ आइसोलेसन बेड, ६ आईसीयू र ८ भेन्टिलेटर छ । आइसोलेसनमा ४८, आईसीयूमा ६ र भेन्टिलेटरमा एक जना बिरामी छन् । यो सूचनाले के भन्छ भने भक्तपुर अस्पतालमा ३५ आइसोलेसन बेड र ७ भेन्टिलेटर खाली छ ।

७ वटा भेन्टिलेटर खाली छ भनेपछि संक्रमितका आफन्तहरुले अस्पतालमा फोन गरे । तर अस्पतालका अधिकारीहरु एक जना पनि भर्ना गर्न नसक्ने बताउँछन् । अस्पतालका सम्पर्क व्यक्ति डा. सुमित्रा गौतमका अनुसार अस्पतालमा ६ बेडको आईसीयू छ । भेन्टिलेटर त्यही छ बेडभित्रमा प्रयोग गर्ने मेसिन मात्र हो ।

भेन्टिलेटरको संख्या पनि ८ होइन, ६ वटा हो । आईसीयूमा रहेका ६ मध्ये ३ जना संक्रमित भेन्टिलेटर सपोर्टमा छन् । तीन वटा भेन्टिलेटर मेसिन त छ, तर आईसीयू बेड थप नभएकाले अरु बिरामी भर्ना लिन सक्ने अवस्था छैन । ‘कसरी गलत तथ्यांक सार्वजनिक भयो त्यो त मन्त्रालयलाई नै थाहा होला’ डा. गौतम भन्छिन्, ‘तर यसले हामीलाई मात्र होइन, आईसीयू–भेन्टिलेटरको अभावमा छटपटाइरहेका संक्रमितका आफन्तलाई थप पीडा दिएको छ ।’

निजामती कर्मचारी अस्पतालको अवस्था पनि उस्तै छ ।

मन्त्रालयका अनुसार यो अस्पतालमा ७० आइसोलेसन बेड, २४ आईसीयू र ३ भेन्टिलेटर छन् । आईसोलेसनमा ६८, आईसीयूमा १४ र भेन्टिलेटरमा एक जना कोरोना संक्रमित उपचाररत छन् । यस आधारमा आइसोलेसनमा २, आईसीयूमा १० र भेन्टिलेटरमा २ बेड खाली भन्ने बुझे । संक्रमितका आफन्तले फोन गरे । अस्पतालले भने एक जना पनि भर्ना लिन नसक्ने बताएको छ ।

अस्पतालका सम्पर्क व्यक्ति डा. सुमनबाबु मरहट्टा मन्त्रालयको गलत तथ्यांक भएको बताउँछन् । ‘बेड छ रे भनेर फोन आइरहेको छ । खै कसरी मन्त्रालयले यस्तो गलत तथ्यांक सार्वजनिक गर्‍यो थाहा भएन’ डा. मरहट्टाले भने । उनका अनुसार अस्पतालमा ३ भेन्टिलेटरसहित १५ आईसीयू बेड र २१ एचडीयू छ । र सबैमा अहिले बिरामी छन् ।

कसरी लिइन्छ अपडेट ?

अस्पतालहरुका अनुसार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सफ्टवेयरमा हरेक दिन बिहान ११ बजेभित्र अस्पतालको क्षमता र बिरामी संख्या अपडेट गरिन्छ ।

मन्त्रालयले अपरान्ह ४/५ बजे मात्र सार्वजनिक गर्छ । त्यसै पनि यो ५/६ घन्टामा बेड अकुपेन्सीमा फेरबदल आइसकेको हुन्छ । जस्तो, सोमबार वीर अस्पतालले विहान तथ्यांक पठाउँदा केही आइसोलेसन बेड खाली थिए । तर केहीबेरमा सबै भरिएको अस्पतालका सम्पर्क व्यक्ति डा.अच्युत कार्की बताउँछन् ।

त्यसमाथि मन्त्रालयले आईसीयू र भेन्टिलेटरलाई छुट्टाछुट्टै बेडका रुपमा सार्वजनिक गरेपछि हिसाब बिग्रिएको छ । जस्तो, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १७० आइसोलेसन बेड, २० आईसीयू र ९ भेन्टिलेटर र आइसोलेसनमा १६१, आईसीयूमा ११ र भेन्टिलेटरमा ९ जना बिरामी रहेको मन्त्रालयले जनाएको छ । यसले अस्पतालमा ९ आईसीयूमा बेड खाली छ भन्ने बुझायो ।

जबकि अस्पतालको आईसीयू युनिटमा जम्मा २० वटा बेड छन् । जसमध्ये ११ वटा आईसीयू बेड र ९ वटा भेन्टिलेटरसहितका बेड हुन् । र, सबै प्याक छन् ।

अस्पतालका सम्पर्क व्यत्ति डा. प्रवीण नेपाल तथ्यांक संकलन गर्ने व्यक्तिले नबुझ्दा गलत सूचना प्रवाह भएको बताउँछन् । ‘यस्तो संवेदनशील विषयमा सरकारी संयन्त्रबाट गलत तथ्यांक सार्वजनिक हुनुहुँदैनथ्यो’ उनी भन्छन्, ‘तथ्यांक संकलन गर्ने व्यक्तिको गलत बुझाइले गर्दा पनि समस्या हुनगयो ।’

वीर अस्पतालको अवस्था पनि त्यही हो । मन्त्रालयको सूचनामा अस्पतालमा १० आईसीयू र १० भेन्टिलेटर छ । आईसीयूमा ७ जना र भेन्टिलेटरमा ६ जना बिरामी छन् । यसले पनि आईसीयू र भेन्टिलेटरमा बेड खाली भएको बुझायो ।

तर डा. कार्कीका अनुसार अस्पतालमा भएको आईसीयू युनिटमा १० वटा बेड छन् र सबैमा भेन्टिलेटर सुविधा छ । ८ वटा बेडमा कोभिड संक्रमित छन् भने एउटामा हेमो डाइलोसिस गर्नुपर्ने बिरामी अर्को अस्पतालमा कार्यरत कर्मचारीका लागि प्रयोग भइरहेको छ । डा. कार्की भन्छन्, ‘आईसीयू प्याक भएको अवस्थामा भेन्टिलेटर खाली भन्न मिल्दैन । त्यहाँ अर्को नयाँ बिरामी भर्ना गर्न सकिंदैन । कुनै पनि बेला आईसीयूको बिरामी भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालले सफ्टवेयर अपडेट गर्न राखेको व्यक्ति र मन्त्रालयले सफ्टवेयरबाट तथ्यांक लिने व्यक्ति अल्मलिंदा समस्या भएको बताउँछन् ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा २३ आईसीयू र १५ भेन्टिलेटर छन् । भेन्टिलेटरमा ७ र आईसीयूमा १५ बिरामी छन् । यसअनुसार बेड खाली भन्ने बुभिन्छ । जबकि आईसीयूमा २३ बेड छन्, जसमध्ये १५ वटा भेन्टिलेटर सुविधा पनि छ ।

अस्पतालहरुले भुईंमा, कुर्सीमा राखेर उपचार गरिरहेको अवस्थामा सरकारले बेड, आईसीयू खाली छ भनेर सूचना सार्वजनिक गर्नु गलत भएको उनी बताउँछन् । अस्पतालका निर्देशक डा. राजभण्डारी भन्छन्, ‘तथ्यांक लिने मान्छे अलमलिएको देखियो । धेरै वटा सफ्टवेयर बनाउँदा मन्त्रालय आफैं हराइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयको सूचनाका आधारमा आईसीयू र भेन्टिलेटर खोजी गर्दै धेरै फोन आइरहेको भन्दै उनले भने, ‘हामीले यथार्थ भनेर बुझाउने कोशिश गरिरहेका छौं । कतिपयलाई त बुझाउनै सकिरहेको छैन ।’

यो समस्या समाधान गर्न तत्कालका लागि मन्त्रालयले सम्पर्क व्यक्ति राख्नुपर्ने डा. राजभण्डारीको सुझाव छ । ‘फोकल पर्सन राख्ने र उसले लिएको तथ्यांकअनुसार नागरिकलाई अस्पताल जान सुझाउने वा सूचना दिने गरे बढी प्रभावकारी होला ।’