Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेसबुकमा लेखेर सधैको लागि गए कोरोनाबाट सर्प संरक्षणकर्मी महेन्द्र कतिला

फेसबुकमा लेखेर सधैको लागि गए कोरोनाबाट सर्प संरक्षणकर्मी महेन्द्र कतिला

पोखरा । ‘लापरवाही नगर्नुस है ! बडो कष्ट पो हुँदोररहेछ, कोरोना संक्रमित भएर बस्नुपर्दा ! शारीरिक कष्ट उस्तै महंगो उस्तै, सामाजिक अप्ठेरो उस्तै, कोही भेट्नै नखोज्ने, भुत भेटे जस्तो पो गर्छन् !’

आफूमा कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएपछि सर्प संरक्षणकर्मी महेन्द्र कतिलाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस हो । पश्चिम नेपाल दाङमा मौरी पालन गरेर बसिरहेका उनलाई ४ दिन अघिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाङबाट भैरहवा आएका बेला कतिलालाई कोरोनाको लक्षण देखिएको थियो । उपचारका लागि चितवनको विपी कोइराला मेमोरियल अस्पतालमा भर्ना भएका थिए । त्यही अस्पतालमै रहेका बेला उनले स्टाटस लेखेका थिए ।

तर, फेसबुकमा स्टाटस लेखेको ३ दिनमै कतिलाको कोरोनाकै कारण मृत्यु भएको छ । सोमबार दिउँसो करिब ४ बजेको समयमा मृत्यु भएको कतिलाका भाइ मनोज कतिलाले पुष्टि गरे । उनको ६२ वर्षको उमेरमा निधन भएको हो ।

‘राजनीतिदेखि सर्प संरक्षणसम्मको यात्रा’

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेका कतिला २०३३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति पनि भएका थिए । तर, पछिल्लो कालमा उनी राजनीतिभन्दा टाढा रहेर सर्प संरक्षणमै जीवन व्यतित गरेको पत्रकार तथा गिद्ध संरक्षणकर्मी कृष्णमणि बराल सुनाउँछन् ।

०२८-२९ सालदेखि नै सर्पमा रुचि देखाउन थालेका कतिला कालान्तरमा सर्प संरक्षणमै लागेको बरालको भनाइ छ । ‘मैले उहाँलार्ई चिनेको सर्प उद्धार गर्न थाल्दादेखि नै हो । तर, उहाँ राजनीति पनि गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘राजनीतिमै सक्रिय रहेको भए केही न केही पदमा पुगिसक्नु हुन्थ्यो । तर, त्यसमा उहाँको रुचि गएन ।’

मनोज कतिलाका अनुसार दाजुले अहिलेसम्म डेढ सयभन्दा बढी सर्पको उद्धार गरिसकेका छन् । ४ दशकभन्दा बढी सर्पको उद्धारमै बिताएका उनले विश्वमै दुर्लभ राज गोमन नामको ४ वटा सर्पको उद्धार गरिसकेका छन् ।

सर्पको टोकाइबाट बर्षेनी हुने मृत्युदर घटाउन र सर्पको संरक्षण गर्न ‘सर्प फार्म’ खोल्न निकै प्रयास गरे पनि सफल हुन नसकेको संरक्षणकर्मी बराल बताउँछन् । ‘नेपालमै एन्टिभेजनम भ्याक्सिन उत्पादन गर्ने उहाँको ठूलो योजना थियो । त्यसका लागि आफूजस्तै सर्पप्रेमी केही साथीसँग सहकार्य गर्ने कुरा पनि थियो,’ उनी भन्छन्, ‘त्यो पूरा हुन सकेन् ।’

सर्पको विषबाट धेरै प्रकारको औषधि बनाउन सकिए पनि नेपालको कानुनमा व्यवस्था नभएकाले नेपालले ठूलो अवसर गुमाइरहेको कतिला गुनासो पोख्ने गर्थे । कतिला भन्थे, ‘एन्टिभेनमका लागि विष निकाल्न हामीसँग प्रविधि र प्राविधिक सबै छन् । तर, कानुन छैन ।’ कातिला पोखरामा सर्प संरक्षण र उद्धार गर्न सुरु गर्ने पहिलो संरक्षणकर्मीका रुपमा चिनिन्छन् ।