किस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् ।
दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे ।
शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’
उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न मुलुक हुन् । यूएईसँग दुवैको राम्रो सम्बन्ध छ । तर दुई देशबीच अहिले कुनै पनि किसिमको कुराकानी छैन ।’
पाकिस्तान वार्ताबाट पछि नहटेको बरू भारतले जहिले पनि वार्ता टार्न खोजेको उनले बताए ।
उनले भारतबाट उत्तेजक गतिविधि भइरहेको आरोप लगाए र पाकिस्तान आफ्ना सबै छिमेकीसँग सुमधुर सम्बन्ध चाहन्छ भने । आफूहरूको आर्थिक विकासका लागि शान्ति आवश्यक रहेको उनको भनाइ छ ।