अक्सिजन ट्याङ्की पड्केर आगो लागेपछि इराकको एक अस्पतालमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । इराकको राजधानी बगदादमा कोभिड-१९ भएका बिरामीहरूको उपचार गरिरहेको उक्त खतिब नामक अस्पतालमा आगलागी भएको हो । शनिबार राति अस्पतालमा अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी भएको थियो । आगलागीमा परेर दर्जनौँ मानिस घाइते समेत भएका छन् ।
कोभिडका बिरामीका लागि चाहने अक्सिजन ट्यांकी पड्केर उनीहरूको ज्यान गएको हो । सो घटनापछि रातिदेखि नै मानिसहरूको भागाभाग भएको थियो । अस्पताल छोडेर भागिरहेका देखिने र अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका भिडियोहरू सामाजिक सञ्जालमा शेयर भएका छन् ।
अस्पतालमा उपचाररत बिरामीहरूको उद्धार समेत गरिएको छ । इराकका आपत्कालीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गर्न सफल भएको बताएका छन् । कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा रहेका थिए । घाइतेहरूको उद्धार गरी अन्यत्र उपचार भइरहेको छ । उक्त दुर्घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल/कादिमिले ‘दुःखद दुर्घटना’ भएको बताएका छन् ।
साथै उक्त दुर्ङटनाको वास्तविक कारण खोल्न तत्काल अनुसन्धान गर्ने पनि उनले बताएका छन् । इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो । साथै आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको जनाइएको छ । एजेन्सी