चीनले अमेरिकालाई ताइवानको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रीले वाङ यीले अमेरिकी प्रतिनिधिसँगको भिडिओवार्तामा सिधै ‘ताइवानको विषयमा हस्तक्षेप गर्नु आगोसँग खेल्नु बराबर हो’ भनेका हुन् । चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ । तर चिनियाँ नीति ताइवानमा नचल्ने त्यहाँको राष्ट्रपति साइ इंग–वेनले बताउँदै गर्दा अमेरिकाले उसलाई हतियारहरु बेच्ने गरेको छ । पछिल्लो समय अमेरिकी सरकारी अधिकारी ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो। चीनले अमेरिकी प्रतिनिधि ताइवान आए ताइवानमाथि सैन्य आक्रमण हुने चेतावनी दिइसकेको छ ।
यसबीचमा शुक्रबार यीले अमेरिकी विदेश मामिलाका लागि अमेरिकी काउन्सिल अध्यक्ष रिचर्ड हाससँग भिडिओ सम्मेलनमा अमेरिका र चीन सम्बन्धको बारेमा चर्चा गरेका थिए । सो क्रममा ताइवानको विषयमा हस्तक्षेप भएमा अमेरिकाले त्यसको परिणाम भोग्नुपर्ने चीनले बताएको हो । सो भिडिओवार्तामा सिनजियाङको मानवअधिकार र हङकङको स्वतन्त्रताको विषयमा पनि कुराकानी भएको थियो । यी दुवै मामिलामा यीले अमेरिकालाई हस्तक्षेप नगर्न सुझाव दिएका छन् । उनले सिनजियाङमा उइगरमाथि गरिएको भनिएको दमनको विषय झुठो भएको र हङकङ एक देश दुई प्रणाली अनुसार चलेको क्षेत्र भएकाले चिनियाँ नीति अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । चीनको आफ्नो विकल्प खोज्न पाउने अधिकारमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने र चीनले जस्तो बाटो अंगाले पनि त्यसको अमेरिकाले सम्मान गर्नुपर्ने यीले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।
अमेरिकाले चीनको शान्तिपूर्ण विकासलाई स्वीकार गर्छ कि गर्दैन भन्ने विषयले अमेरिका र चीनको भविष्य निर्धारण हुने उनको भनाइ छ । सो क्रममा यीले अमेरिकालाई लोकतन्त्र कोकाकोलाको स्वादजस्तो नभएको पनि बताएका छन् । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार चीनका विदेशमन्त्री वाङ यीले अमेरिकालाई भनेका छन्,‘लोकतन्त्र कोकाकोला होइन जसको स्वाद हरेक ठाउँ एकै हुन्छ ।’ चीनमा पनि लोकतन्त्र भएको र त्यसको स्वरुप फरक भएको उनले बताएका हुन् । यीले दुई देशबीचको सुमधुर सम्बन्धका लागि अमेरिकालाई पाँच सुझावसमेत दिएका छन् ।
पाँच सुझाव :
पहिलोः अमेरिकाले चीनको विकासलाई निष्पक्ष र तर्कसंगत ढंगले बुझ्ने कोसिस र्गनुपर्छ ।
दोस्रोः दुवै देशको सह–अस्तित्व र आपसी हितको लागि अमेरिकाले चीनसँग नयाँ तरिकाले काम गर्नुपर्छ ।
तेस्रोः चीनले जस्तो बाटो रोजेपनि अमेरिकाले त्यसको सम्मान गर्नुपर्छ र सहनशीलता देखाउनुपर्छ ।
चौथोः अमेरिकाले वास्तविक अर्थमा बहुध्रुवीय दुनियालाई स्वीकार गर्नुपर्छ ।
पाँचौंः चीनको आन्तरिक मालिामा अमेरिकाले हस्तक्षेप गर्नुहुँदैन ।