भारतमा बुधबार एकैदिन कोभिड–१९ को कारण २ हजारभन्दा बढी व्यक्तिको ज्यान गयको छ । यसै अवधिमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।
बुधबार भारतभर दुई लाख ९५ हजार जनामा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना माहामारी सुरु भएयता विश्वमा भएको दैनिक सङ्क्रमणलाई हेर्दा यसलाई ठूलो संख्या मानिएको छ । यद्यपि अमेरिकामा गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।
भारतमा कोरोनाबाट ज्यान गुमाउने संख्या १ लाख ८२ हजार ५५३ पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशवासीको नाममा सम्बोधन गर्दै देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड-१९ सँग लडाइँ गरिरहेका बताएका छन् ।
केही साताअघिसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको उनको भनाइ थियो । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । अहिलेसम्म १३ करोड व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ यसविरुद्धको खोप लगाउने क्रम पनि जारी छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक-भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुतनिक-भी गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको हो ।
भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।
राजधानीसमेत रहेकाे दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिन २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका र २७७ जनाको ज्यान गयको थियो । दिल्लीमा कोरोना सुरु भएपछि हालसम्म १२ हजार ६३८ जनाको ज्यान गैसकेको छ ।