Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँदिल्लीबाट हङकङ पुगेको विमानका ४९ यात्रुलाई कोभिड-१९ को संक्रमण

नयाँदिल्लीबाट हङकङ पुगेको विमानका ४९ यात्रुलाई कोभिड-१९ को संक्रमण

हङकङ: भारतको नयाँदिल्लीबाट हङकङ पुगेको एउटा विमानका ४९ यात्रुलाई कोभिड-१९ को संक्रमण भेटिएको छ ।

भारत पाकिस्तान र फिलिपिन्सबाट दुई सातासम्म उडान प्रतिबन्धपछि खुलाइएको नयाँदिल्लीको उडानमा मंगलबार ती यात्रुहरु संक्रमित भेटिएका हुन् ।

हङकङमा गत जनवरीमा फैलिएको कोरोनाको चौथो लहर नियन्त्रित भइसकेको अवस्थामा भारतीय यात्रुमा एकै पटक संक्रमण देखिएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

हङकङमा कोरोनाको अवस्था नियन्त्रित भइरहँदा भारतमा भने संक्रमण अनियन्त्रित भइसकेको छ । बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा समेत उनीहरुको उपचार गर्न सकिएको छैन । कतिपय अस्पतालले बिरामी राख्ने ठाउँ नै नभएको भनेपछि कतिपय सहरमा संक्रमितहरुको बिचल्ली भएको छ ।

मंगलबार दिल्लीको विस्तारा उडानमार्फत हङकङ उडेका १८८ यात्रुमध्ये ४९ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्। हङकङका अधिकारीहरुले भने विमानमा जम्मा कति यात्रु सवार थिए भन्ने बारे विवरण दिएका छैनन् ।

एकै पटक यति धेरै यात्रुमा कोभिड देखिएपछि उनीहरुलाई हङकङ सरकारको स्वास्थ्य मापदण्ड अनुसार तीन साता क्वारेन्टिनमा राखिने भएको छ । यहाँ विमानमा यात्रा गर्नुअघि पछिल्लो ७२ घण्टासम्म कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट सार्वजनिक गर्नुपर्ने नियम छ ।