एजेन्सी, ३० चैत । रुसले युक्रेनी सीमा नजिकै ठूलो मात्रामा सैन्य ट्याङ्क तैनाथ गरेको छ । सीमामा ठूलो परिणाममा ट्याङ्कहरु देखिएपछि रुसले हमला गर्न सक्ने भन्दै अमेरिका र बेलायत सशंकित बनेका छन् रुसले सन् २०१४ पछि कै ठूलो मात्रामा युक्रेनी सीमाना नजिकै आफ्नो सैनिक उपस्थिति बढाएपछि बेलायत र अमेरिकासहित केही पश्चिमा मुलुकले अवस्था नचर्काउन समेत रुसी नेतृत्वलाई आग्रह गरेका छन् ।बेलायती विदेशमन्त्री डोमिनिक राबले रुसलाई युक्रेनसँगको तनाव कम गर्न भनेका छन् । क्राइमिया र रुसी पृथकतावादीको कब्जामा रहेको युक्रेनको डोनबासमा रुसले मोर्टार, ट्याङ्क, सशस्त्र बाहन र मिसाइल बोकेका ट्रक जम्मा गर्न थालेपछि राबले तनाव कम गर्न भनेका हुन् ।त्यस्तै, अमेरिकाले समेत कृष्ण सागरमा दुईवटा यु*द्धपोत पठाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र राबबीच कुराकानी भएपछि अमेरिकाले उक्त कदम चालेको हो ।‘रुसले तनाव कम गर्नुपर्छ र आफूले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्नुपर्छ भन्ने कुरामा विदेशमन्त्री ब्लिङ्कन र मबीच सहमति भएको छ’, राबले भने ।राबले युक्रेनी सीमानामा सैनिक उपस्थिति बढाउने रुसी कदम ‘युक्रेनलाई अस्थिर बनाउने अभियान’ समेत भनेका छन् ।रुसले युक्रेनको अधीनमा रहेको क्राइमियालाई कब्जामा लिएपछि अमेरिकासहित केही पश्चिमी मुलुकहरु रुसी राष्ट्रपतिप्रति सशंकित बन्दै आएका छन् । युक्रेनी सीमानामा भारी मात्रामा हतियार र सेना तैनाथ गरेपछि पुटिनले युक्रेनमाथि हमला गर्न सक्ने शंका र त्रास दुबै बढेको छ ।