काठमाडौँ : अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कार्यभार सम्हालेकै दिन विस्तृत आप्रवासन विधेयक सार्वजनिक गर्ने योजना बनाएका छन् ।
देशमा अवैध रूपमा बसिरहेका एक करोड १० लाख मानिसलाई आठ वर्षमा नागरिकता दिलाउने उक्त विधेयकको उद्देश्य रहनेछ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनका विषयमा अपनाएको कठोर नीतिलाई विधेयकले उल्ट्याउनेछ ।
बाइडनले चुनावी अभियानका दौरान ल्याटिनो र अन्य समुदायका मानिसलाई गरेको प्रतिबद्धता कार्यान्वयन गर्न खोजेका हुन् ।
हालैका वर्षमा कुनै कानूनी हैसियत विना नै देशमा बसिरहेका व्यक्तिलाई नागरिकता प्राप्त गर्ने यो सबभन्दा छिटो उपाय हो ।
तर रिपब्लिकनहरूले सीमा सुरक्षामा थप बलियो बनाउनुपर्ने भनी राखेको मागलाई प्रस्तावित विधेयकले संलग्न नगरेकाले संसदबाट यो पारित हुन कठिन देखिन्छ ।
सयौं पृष्ठ लामो विधेयक बाइडनले बुधवार शपथ लिएकै दिन प्रस्तुत गरिने बताइएको छ ।
राष्ट्रपति उम्मेदवारका रूपमा बाइडनले आप्रवासनका विषयमा ट्रम्पका गतिविधिहरूले अमेरिकी मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताएका थिए ।
सीमामा सुरक्षा वृद्धि गर्दै आप्रवासनमा पुर्याइएको क्षतिलाई भरपाई गर्ने उनले प्रतिज्ञा गरेका थिए ।
यस कानूनअन्तर्गत अमेरिकामा सन् २०२१ को जनवरी १ सम्ममा कानूनी हैसियतविना नै बसिरहेका मानिसले अस्थायी कानूनी हैसियत वा ग्रीन कार्ड पाँच वर्षमा ग्रीन कार्ड पाउनेछन् ।
उनीहरूले पृष्ठभूमि परीक्षण उत्तीर्ण गर्नुपर्नेछ, कर तिरेको हुनुपर्नेछ र अन्य आधारभूत दायित्व निर्वाह गरेको हुनुपर्नेछ । त्यसपछि उनीहरूले अंगीकृत नागरिकता पाउने इच्छा गरेमा तीन वर्षभित्र पाउने व्यवस्था मिलाइनेछ ।