काठमाडौँ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५६ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ९९४ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ८३ हजार ४६१ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५४ हजार २५४ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ५७४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५३६ जनाको मृत्यु भइसकेको छ ।