Shares
Shares
नन्दराम खड्का,रोल्पा
गाउँहरु पुरुषविहीन बन्न थालेपछि घर सम्हाल्नेदेखि समाज र देशका काम धान्ने जिम्मा महिलाको काँधमा आएको छ ।
हिजोआज प्रायः गाउँमा पुरुष भेटिदैनन् । काम गर्नसक्ने युवा र वयस्क पुरुष प्रायः बिदेश गएका छन् ।
केही युवा पढ्न लेख्ने शहर झरेका छन् । जसले गर्दा घरपरिवार धान्ने, खेतीपाती गर्ने, जन्ती–मलामीजस्ता सामाजिक रितिथिति धान्ने मात्र होइन गाउँमा आउने विकास निर्माणका काम गर्ने जिम्मा पनि महिलाकै काँधमा छ ।
रुन्टीगढी गाउँपालिका १ लापलका महिला अहिले सिंचाइ कुलो निर्माणमा व्यस्त छन् । ‘अहिले त सबै गाउँ धान्ने जिम्मा नै महिलाको छ’– स्थानीय मञ्जु दशौंदी भन्नुहुन्छ– ‘विकासमा काममा पनि हामी नआएर को आउने ?’ गाउँका पुरुषजति विदेश गएपछि सबै काँम आफूरुको काँधमा आएको उहाँको भनाइ छ ।
‘स्वदेशमै केही गरौंभन्दा पुग्दैन, पुरुषहरु बिदेश नगइ घर चल्दैन’– उहाँले भन्नुभयो– ‘पुरुष नहुँदा घर, समाज र यस्ता झाराखाराका काम हामीले नै धान्नुपर्छ ।’
यो गाउँमा अहिले करीब ८ कि.मी.को दुरीमा रहेको सिंचाई कुलोको काम भइरहेको छ, जहाँ अधिकांश महिलाले काम गरिहेका छन् । घरमा पुरुष नहुँदा घरघरबाट महिला काममा आउने गरेका छन् । पिठ्यूमा साना नानी बोकेर पनि काममा महिलाहरु आइरहेको स्थानीय भीमा घर्तीले जानकारी दिनुभयो ।
कुलोको लागि आवश्यक गैटी र बेल्चा चलाउने काम सबै महिलाले नै गरिरहेका छन् ।
त्यसो त देशभित्रै केही गर्ने भन्दा बिदेश जाने देखासिखीका कारण पनि गाउँहरु पुरुषविहीन हुने गरेका छन् । कुनै समय यस्तो थियो, जतिबेला महिलाहरु मलामी जान हुँदैन भनिन्थ्यो । तर, अचेल समय फेरिएको छ– गाउँमा जन्तीदेखि मलामीसम्ममा महिलाकै बाहुल्यता हुन्छ ।
‘गाँउमा पुरुष नहुँदा कोही विरामी परे अस्पताल लैजान पनि समस्या हुन्छ’– स्थानीय रितमाली घर्तीले भन्नुभयो– ‘खेतीपातीको बेला छन् समस्या पर्छ, यत्रो उमेरसम्म हलो नछोएका महिलाले अहिले आफै खनजोत गर्दा अफ्ठ्यारो नै हुन्छ ।’ अर्की स्थानीय ठगी रानाले गाउँमा प्राय बुढापका, केटाकेटी र महिला मात्रै रहेको बताउनुभयो ।
‘खेतीपातीको समयमा पुरुषहरु घर आए उहाँहरुले नै खनजोत गर्नुहुन्छ तर नआए हामी महिलाले नै गर्छौं– उहाँले भन्नुभयो– ‘स्वदेशमै केही रोजगारी पाए त हुन्थ्यो नि पाइदैन, बिदेश नगएर के गर्नु ?’
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209