Shares
Shares
काठमाडौँ । सामाजिक सञ्जालमा अहिले एउटा भिडियोबारे निकै चर्चा भइरहेको छ । उक्त भिडियोमा दुई युवा एक महिलालाई जिस्काउँदै बजै भन्दै बोलाइरहेका हुन्छन् ।
त्यहि बेला ती युवा २ पुरुषतिर पालैपालो संकेत गर्दै एकजनालाई बाबै आइपुग्नुभयो भन्दै देखाउँछन् भने अर्को एकजना पुरुषलाई घरभित्रै पसेर हातै तानेर बाहिर ल्याएर नयाँ बाजे भन्दै जिस्काउँछन् ।
बेरोजगार भइयो, अन्य क्षेत्रमा जान रुची र आँट भएन अनि क्यामेरा बोक्यो र व्यक्तिका आन्तरिक मामिलालाई सार्वजनिक गर्यो । भ्युज आइहाल्छ, भ्युज आए पैसा आइहाल्छ । त्यो हर्कतले त्यसपछि ब्यक्तिको निजी जीवनमा के कस्तो असर पार्यो त्यसको लेखाजोखा कस्ले गर्ने ?
समाजका केही मानिस कति स्वार्थी र असभ्य बन्दै गइरहेको छ भन्ने एक उदाहरण हो यो । सञ्चार र पत्रकारिताको परिभाषालाई नै गिज्याउने यस्ता हर्कतले आमसञ्चारप्रतिको विश्वास पनि गुम्ने खतरा भइरहेको छ।
सञ्चार प्रविधिको विकास र इन्टरनेटको पहुँचसँगै अनलाइन मिडिया र सामाजिक सञ्जाल नागरिकलाई सुसूचित गर्ने सशक्त माध्यम बनेका छन् । यसको सदुपयोगबाट धेरै पीडितले न्याय पाएका छन् ।
यस अर्थमा सामाजिक सञ्जाललाई भने दोष दिन मिल्दैन । तर जसले यसको प्रयोग सामाजिक मूल्यमान्यता र नैतिकतालाई नै धरापमा पार्ने गरी गरेका छन् । यस्ता हर्कत गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण पनि गराउने काम पनि भइरहेको छ ।
विशेषगरी फेसबुक, युट्युब र टिकटक जस्ता प्लेटफर्महरूमा ’सामाजिक सेवा’ र ’पारिवारिक पुनर्मिलन’ को आवरणमा ग्रामीण भेगका महिला र विपन्न नागरिकहरूलाई निशाना बनाउँदै क्यामेरा ट्रायल र चरित्रहत्याको शृङ्खला चलिरहेको छ ।
जसले पत्रकारिताको न्यूनतम मर्यादा र देशको कानुनलाई नै खुला चुनौती दिइरहेको छ । विगत करिब एक सातादेखि विभिन्न युट्युब च्यानल र फेसबुक पेज तथा अकाउन्टबाट लगातार सम्प्रेषण भइरहेका भाइरल भिडिओ यसका ज्वलन्त उदाहरण हुन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–४ चैनपुर बस्ने ६५ वर्षीय वृद्ध चन्द्रबहादुर दर्जी र उनकी ३४ वर्षीया श्रीमती जुनु परियारको पारिवारिक विवादलाई लिएर युट्युबरहरूले चलाएको भ्रामक र अनैतिक ’अन्तर्वार्ता अभियान’ ले गम्भीर कानुनी र नैतिक प्रश्न खडा गरेको हो ।
सम्बन्धित युट्युब च्यानलका सञ्चालकहरूले झन्डै १३ घण्टाको मोटर यात्रा तय गरी काभ्रेको मण्डनदेउपुर पुगेर यस प्रकरणको भिडिओ बनाउन सुरु गरेको देखिन्छ । पहिलो चरणका भिडिओमा ६५ वर्षीय चन्द्रबहादुर दर्जीलाई मकैबारीमा दौडाउँदै, रुवाउँदै र आफ्नी श्रीमती भगाउने ’जार’ लाई भेटेमा ’काटी दिने’ वा ’छप्काइदिने’ जस्ता हिंस्रक अभिव्यक्तिहरूलाई उत्तेजक ढङ्गले प्रस्तुत गरिएको छ ।
अन्य भिडिओमा, युट्युबरले ती महिला र उनका नयाँ साथीलाई मकवानपुरको मनहरी–३ सिद्धकालीमा फेला पार्छन । त्यहाँ खिचिएका दृश्यहरू झनै लज्जास्पद छन् । जुनु परियार आफूमाथि श्रीमान्ले विगतमा कुटपिट गर्ने गरेको, मोबाइल फुटाइदिएको र बरु मर्न तयार रहेको तर पूर्व श्रीमानको घरमा नफर्कने भन्दै धरधरी रोइरहँदा युट्युबरहरूले क्यामेरा उनाको अनुहारमै झोसेर जबरजस्ती बोल्न बाध्य पार्छन् । महिलाले आफ्नो आत्मसम्मान र बाँच्न पाउने स्वतन्त्रताको याचना गर्दागर्दै पनि युट्युबर र स्थानीय केही व्यक्तिहरू मिलेर उहालाई
गाडीमा हाल्छन् र स्थानीय जनप्रतिनिधिको रोहबरमा जबरजस्ती प्रहरीको जिम्मा लगाउँछन् । यस प्रकरणमा जुनु परियारका १० र १५ वर्षका नाबालक छोरालाई क्यामेराको अगाडि उभ्याएर रोइरहेको अवस्थामा अन्तर्वार्ता लिइएको छ ।
यसले उनीहरूको मानसपटलमा गम्भीर चोट पु¥याउनुका साथै विद्यालय र समाजमा उनीहरूले ठुलो सामाजिक लाञ्छना भोग्नुपर्ने स्थिति सिर्जना गरेको छ ।
यस्तो निजी तथा संवेदनशील पारिवारिक विषयलाई क्यामेरा ट्रायल गर्ने युट्युबरहरूमाथि नेपाल प्रहरी र सम्बन्धित निकायले तत्काल हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ ।
यद्यपि, केही प्रयोगकर्ताहरूले नाबालक छोराछोरी छोडेर हिँडेको भन्दै महिलाको आलोचना पनि गरेका छन् । तर, समाजको एउटा ठुलो हिस्सा भने युट्युब च्यानलबाट केवल पैसा कमाउने लोभमा एउटा विपन्न परिवारको गोपनीयता र प्रतिष्ठाको निर्लज्ज धज्जी उडाएको कुरामा आक्रोशित देखिएको छ ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को को दफा ३ मा प्रत्येक व्यक्तिको निजी जीवन, यौन जीवन वा शारीरिक रोग सम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुने व्यवस्था छ । तर युट्युबरहरूले जुनु परियारको दाम्पत्य जीवन र व्यक्तिगत सम्बन्धका अति नै गोप्य कुराहरू सोधेर सार्वजनिक गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिताले पत्रकारितालाई मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन स्पष्ट मार्गनिर्देशन गरेको छ । आचारसंहिताको दफा ४ र ५ ले पत्रकारले पालना गर्नुपर्ने कर्तव्य र गर्न नहुने कार्यहरू स्पष्ट तोकेको छ ।
तर केहि युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले भने आफू मिडियाकर्मी भएको भन्दै यस्ता गतिविधि बारम्बार दोहोर्याइरहेको देख्न सकिन्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209