गुल्मी,जीवनमा कहिलेकाहीँ यस्तो समय पनि आउँछ, जब आफ्नै भन्ने कोही हुँदैन। न सहारा हुन्छ, न आश्रय। गुल्मीको मालिका गाउँपालिका–८ की ८४ वर्षीया खिमा सुनारले पनि यस्तै पीडादायी जीवन बिताउँदै आउनुभएको थियो।
करिब तीन दशकदेखि एक्लै बस्दै आउनुभएकी उहाँको सानो, जीर्ण घर नै उहाँको संसार थियो। तर एक दिन आएको भीषण हावाहुरीले त्यो संसार पनि उजाडिदियो। टाउको लुकाउने छानोसमेत उडाएपछि उहाँ खुला आकाशमुनि बस्न बाध्य हुनुभयो। वृद्ध शरीर, कमजोर अवस्था र एक्लोपन—यी सबै पीडाबीच उहाँको जीवन झन् कष्टकर बन्दै गयो।
यही कठिन घडीमा मानवताको हात बनेर अघि सरे पत्रकार कोपील लमसाल र केशव पाण्डे। उहाँहरूले यसअघि पनि विभिन्न पर्व–उत्सवका अवसरमा खिमा आमालाई सहयोग गर्दै आउनुभएको थियो। तर यसपटक सहयोग केवल राहतमा सीमित रहेन। उहाँहरूको अथक पहल, समन्वय र सहयोगले खिमा आमाका लागि नयाँ, सुरक्षित र बलियो घर निर्माण भयो।
जब खिमा आमा आफ्नै नयाँ घरको आँगनमा उभिनुभयो, उहाँका आँखाबाट खुसीका आँसु झरे। भरिएको घाँटीले उहाँले भन्नुभयो, ूतिमीहरू मेरा छोराहरू हौ, भगवान बनेर आयौ। मेरो कोही नहुँदा पनि तिमीहरूले साथ दियौ। अब मेरो जीवनको अन्तिम साससम्म बस्नका लागि यही घर नै काफी छ।ू
उहाँका यी शब्दले त्यहाँ उपस्थित सबैको मन छोयो। त्यो केवल एउटा घर हस्तान्तरणको क्षण थिएन, त्यो मानवता, माया र जिम्मेवारीको जीवन्त उदाहरण थियो।
आज खिमा आमाले केवल नयाँ घर मात्र पाउनुभएको छैन,उहाँले आफूलाई सम्झिने, साथ दिने र आफ्नो पीडालाई आफ्नै पीडा ठान्ने मान्छेहरू पनि पाउनुभएको छ।