Shares
Shares
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक व्यवस्थापन र सार्वजनिक स्थानको संरक्षणका नाममा गल्ली–गल्लीमा महानगर प्रहरी परिचालन गर्दै चिट काट्दै आइरहेको छ । सवारी साधनको चिट काट्न ट्राफिक प्रहरी चाहिने भए पनि महानगर प्रहरीले आफैँले ह्वील लक लगाउँदै भित्री गल्लीहरू जरिबानाको चिटसमेत काट्ने गरेको हो ।
महानगरको यही कामको शिकार बने मुगुका २५ वर्षीय युवा गणेश नेपाली । बिहीबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बाइक रोकेकै कारण महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो ।
महानगर प्रहरीले लक लगाइसकेपछि चिट थमाउन लागेसँगै केहीबेर भनाभन भएको थियो । भनाभन भएको करिब २ घण्टा गणेश त्यहाँबाट हराएका थिए । पुनः साढे १ बजेतिर उनी बाइक ह्वील लक भएको ठाउँमा आएका थिए ।
त्यहीँ उनले आफ्नै बाइकबाट पेट्रोल झिकेर शरीरमा छर्केर आफैँलाई आगो लगाएका थिए । केही प्रत्यक्षदर्शीले गणेशले आगो लगाउँदै गर्दा पनि महानगर प्रहरी हेरेर मात्रै बसेको आरोप लगाएका छन् ।
अहिले काठमाडौँ महानगरपालिका महानगरप्रहरी बलको चौतर्फी आलोचना सुरु भएको छ । सर्वसाधारणहरूले सामान्य अवस्थामासमेत अत्यधिक जरिवाना र कठोर व्यवहार गरिएको गुनासो गर्दै आएका छन्।
घटना महानगर प्रहरीसँग सम्बन्धित भए पनि ट्राफिक प्रहरीले चिट काटेको भन्दै केही सार्वजनिक सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि यसबारे ट्राफिकले ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज सुवेदीले विज्ञप्ति जारी गरी गणेश नेपालीको आत्मदाह घटनामा टफिक प्रहरीको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।
शरीरको ५५ प्रतिशत भाग जलेका गणेशको उपचार वीर अस्पतालको आईसीयूमा जारी छ ।
उनलाई उपचारका लागि भारत लैजाने तयारीसमेत गरिएको थियो । रातभर गृहमन्त्री सुधन गुरुङको सक्रियतामा अस्पतालदेखि विमानस्थलसम्म प्रहरी तैनाथ गरी सुरक्षा व्यवस्था मिलाइएको थियो । तर चिकित्सकले गणेशको स्वास्थ्य अवस्था अस्थिर भएकाले अहिले भारत नलैजान सुझाव दिए ।
चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको छ ।
चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209