काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा नेपालीको उपचार भइरहेको छ ।
प्लास्टिक सर्जरी विभागका युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको छ ।
चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ । यसअघि, उनलाई राति नै थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो ।
नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको छ ।
चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ । नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।