Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लगातार तीन दिन काठमाडौँमा भारी वर्षा

लगातार तीन दिन काठमाडौँमा भारी वर्षा

काठमाडौं । आज बिहीबार पनि काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। विशेषगरी दिउँसोपछि मध्यम खालको वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भए पनि अहिले मौसम केही खुलेको छ। यद्यपि दिउँसो करिब २–३ बजेदेखि पुनः वर्षा सक्रिय हुने सम्भावना रहेको उनले जानकारी दिए।

उनका अनुसार पछिल्लो १२ घण्टाको अवधिमा वर्षा मापन केन्द्र रहेका काठमाडौं उपत्यकाका सबै क्षेत्रमा हल्का वर्षा रेकर्ड भएको छ। अहिले वर्षा रोकिए पनि दिउँसोपछि मध्यम स्तरसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् पुडासैनीले काठमाडौं उपत्यकामा वर्षाको क्रम आज मात्र सीमित नहुने बताए। उनका अनुसार आजदेखि आगामी शनिबारसम्म लगातार वर्षाका गतिविधि देखिने सम्भावना रहेको छ। विशेषगरी शुक्रबार भने उपत्यकामा भारी वर्षासमेत हुन सक्ने प्रारम्भिक आकलन गरिएको उनले बताए।

महाशाखाले हाल तीन दिनसम्मको मौसम अवस्थाको पूर्वानुमान सार्वजनिक गर्ने व्यवस्था रहेको उल्लेख गर्दै आगामी केही दिन वर्षा सक्रिय रहने संकेत देखिएको जनाएको छ।

देशभरको मौसम अवस्था, वर्षाको सम्भावना तथा आवश्यक सतर्कतासम्बन्धी विस्तृत अद्यावधिक विवरण भने मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे नियमित बुलेटिनमार्फत सार्वजनिक गर्ने जनाएको छ।