Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध आज मुद्दा दर्ता होला ?

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध आज मुद्दा दर्ता होला ?

काठमाडौँ ।  व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण तथा विभिन्न आर्थिक अपचलनको आरोपमा हिरासत छन् । उनीहरूविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ  । सीआईबीको अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ ।

सम्भवतः आज उनीहरूविरुद्ध मुद्दा दर्ता हुने सम्भावना छ । सरकारी वकिल कार्यालयले चारवटा मुद्दा दर्ताको तयारी गरेको बताइएको छ । विशेष अदालत र जिल्ला अदालतमा गरी फरक–फरक अदालतमा ती मुद्दा अघि बढाउने लागिएको स्रोतहरूले उल्लेख गरेका छन् । 

धितोपत्र कसुर तथा बैंकिङ कसुरसँग जोडिएको मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी भएको छ । अर्को सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्दा भने विशेष अदालतमा दर्ता गर्न खोजिएको छ । 

विशेष अदालतले भट्ट र सुलभ अग्रवाललाई बुधबारसम्म थुनामा राख्न म्याद दिएको थियो । सोहीकारण उनीहरूको मुद्दा आज दर्ता हुने सम्भावना रहेको हो । सीआईबीले भट्ट र अग्रवालको मुद्दालाई निकै ठूलो मुद्दाको रूपमा लिएको छ ।

उनीहरूसँग जोडिएका दर्जनौँ व्यक्तिलाई प्रतिवादी बनाउन लागेको छ । भट्ट र अग्रवालसँग जोडिएका ५६ जना व्यवसायीको सम्पत्ति रोक्का गरिएको छ । अहिले मुद्दामा पनि एकसयभन्दा बढी प्रतिवादी हुने सम्भावना रहेको पनि बताइएको छ ।

यो प्रतिवादीको समूहमा मुख्यगरी उनीहरू जोडिएको शंकर समूहमा आबद्धहरू पर्ने सम्भावना रहेको छ । त्यसो त, उनीहरू जोडिएको हिमालयन रिइन्स्योरेन्स, लघुबीमा कम्पनीहरूमा आबद्धहरू पनि पर्ने सम्भावना छ । धितोपत्र र सम्पत्ति शुद्धीकरणमा भट्ट र अग्रवालको मुद्दा नै अहिलेसम्मकै ठूलो मुद्दा हुनेछ ।