Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत कीर्ते गरेपछि...

अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत कीर्ते गरेपछि...

काठमाडौं । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी कीर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो।

सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवश अधिकारी भन्ने नामबाट २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी सूचना बनाइ मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा दुई करोड १३ लाख रकमान्तरण हुने विवरण बनाइ कीर्ते गरेका पाइएको बताए।  

उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत तयार गरी विवस अधिकारीलाई अदालतबाट एक लाख छ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी कागजात तयार पारेका पाइएको प्रहरीले जनाएको छ।

यसरी कागजात तयार पार्न काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ।

उक्त कसुरमा संलग्न विवस अधिकारीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले बताए।  
 
अनुसन्धानको क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा कीर्ते कागजपत्रहरू फेला परेकोले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।