Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अष्ट्रेलियामै अस्ताइन् सुष्मा कोइराला

अष्ट्रेलियामै अस्ताइन् सुष्मा कोइराला

काठमाडौँ । सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि अष्ट्रेलिया पुगेकी नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ। दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा उनको जीवन अन्त्य भएको हो।

सुष्माको मृत्युले एडिलेडबासी नेपाली समुदाय स्तब्ध छ। गैरआवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया सहितका संघसंस्थाले घटनाको पुष्टि गरेका छन्। यो दुःखद घटनाबारे सुष्माका श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।

‘यो अप्रत्यासित त्रासदीले मलाई मर्माहत बनाएको छ। यति चाँडो र अचानक आफ्नो मान्छे गुमाउनु पर्दा असीमित पीडासँग संघर्ष गरिरहेछु’, विक्रमले लेखेका छन्।

आफ्नो र परिवारको राम्रो भविष्य निर्माणको सपना बोकेर उनी अष्ट्रेलिया पुगेको विक्रमले जनाएका छन्। ‘उनी अरुलाई दुःख पर्दा सहयोग गर्थिन्। हामीमा खुशी छरेकी थिइन्’, विक्रमले लेखेका छन्, ‘उनको यो विछोडले ठूलो रिक्तता अनुभूति भइरहनेछ, त्यो म शब्दमा व्यक्त गर्न पनि सक्दिनँ।’

उनको शव नेपाल ल्याउन तयारी थालिएको छ। श्रीमान तथा नेपालमा रहेका उनका बुवाआमाको इच्छा सुष्माको पार्थिव शरीर नेपाल ल्याउने र आफ्नै धर्म, परम्पराअनुसार अन्त्येष्टि गर्ने रहेको छ। यसका लागि नेपाली समुदायले गोफन्ड मार्फत पैसा उठाउने काम सुरु गरेको छ। 

घटना पुष्टि भए पनि के कारणले सुष्माको निधन भएको हो भनेर कसैले खुलाएका छैनन्।