काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गर्मी क्रमशः बढ्दै गएको छ । लगातार घाम लाग्ने र अधिकतम तापक्रम उकालो लाग्ने क्रममा केही स्थानमा भने वर्षाको सम्भावना पनि देखिएको मौसमविद्ले बताएका छन् ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा हाल पूर्वी क्षेत्रतर्फ केन्द्रित छ । यस कारण मध्य क्षेत्रतिर वर्षा क्रमशः घट्दै जाने र तापक्रम बढ्ने अवस्था बनेको उनले बताइन् ।
उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको अवस्था रहने भएकाले सतर्कता अपनाउन आवश्यक छ । यदि यही अवस्था केही दिन निरन्तर रह्यो भने ‘तातो लहर’ घोषणा गर्ने अवस्था आउन सक्ने पनि उनले उल्लेख गरिन् ।
हाल वर्षा सरदरभन्दा कम देखिए पनि लामो खडेरीपछि एकैपटक भारी वर्षा हुँदा बाढी–पहिरोको जोखिम भने यथावत रहने उनको चेतावनी छ । गण्डकी प्रदेशमा विशेष गरी जोखिम उच्च रहेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको उनले बताइन् ।
पोखरेलका अनुसार अहिले मौसम पूर्वानुमानमा स्याटेलाइट, संख्यात्मक मोडेल, हाइड्रो–मेटियोरोलोजिकल सञ्जाल र बाढी पूर्वानुमान मोडेलजस्ता प्रविधिको प्रयोग बढेकाले पूर्वानुमान पहिलेभन्दा धेरै सटीक हुँदै गएको छ ।
उनले चट्याङ, बाढी र मौसमी प्रणालीको विश्लेषण आधुनिक प्रविधिमार्फत गरिने भएकाले दैनिक मौसम जानकारी अझ विश्वसनीय बनेको पनि स्पष्ट पारिन् ।