अमेरिकी दूतावास नेपाल र युथ इनोभेसन ल्याब कन्सल्ट प्रा.लि.ले “FutureFront: Powering Digital Innovation through Content & AI” पहल अन्तर्गत चार दिने AI Innovation Lab बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेका छन्।
यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल नवप्रवर्तन, उद्यमशीलता तथा उदीयमान प्रविधिमा अमेरिका–नेपालबीच दीर्घकालीन सहकार्यलाई सुदृढ बनाउनु रहेको थियो। सोही उद्देश्यअनुसार नेपाली युवा नवप्रवर्तकहरूलाई मानव–केन्द्रित तथा व्यावहारिक एआई समाधान विकासमा सक्रिय रूपमा सहभागी गराइएको थियो।
बुटक्याम्पमा २० जना उदीयमान नेपाली एआई नवप्रवर्तक तथा स्टार्टअप संस्थापकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एआई नवप्रवर्तन, स्टार्टअप तयारी तथा जिम्मेवार प्रविधि विकाससम्बन्धी व्यावहारिक सीप र अनुभव प्राप्त गरे।
युथ इनोभेसन ल्याब कन्सल्ट प्रा.लि.का व्यवस्थापन निर्देशक प्रदीप खतिवडाले सहभागीहरूलाई स्वागत गर्दै भन्नुभयो, “प्रभावशाली एआई–सक्षम समाधानहरू निर्माण गर्न सहकार्य, निरन्तरता र बहु–विषयक नवप्रवर्तन अपरिहार्य हुन्छ।”
त्यस्तै अमेरिकी दूतावास नेपालकी सांस्कृतिक मामिला अधिकारी एरिका एलेक्जेन्डरले भन्नुभयो, “नवप्रवर्तन केवल प्रविधि निर्माण मात्र होइन, यो मानिस र समुदायका लागि वास्तविक र अर्थपूर्ण मूल्य सिर्जना गर्ने प्रक्रिया हो।”
चार दिने इनोभेसन ल्याबमा विशेषज्ञद्वारा सञ्चालन गरिएका कार्यशालाहरू, व्यावहारिक अभ्यास, सल्लाह तथा परामर्श सत्र, सामूहिक समीक्षा सत्र तथा कार्यान्वयनमुखी इनोभेसन स्प्रिन्टहरू समावेश थिए। सहभागीहरूले बजार उत्पाद तयारी, एआई कार्यप्रवाह डिजाइन, प्रयोगकर्ता अनुभव म्यापिङ, प्रोटोटाइप परिष्करण, जिम्मेवार एआई तथा सुरक्षा अभ्यास, मूल्य निर्धारण, स्टार्टअपका लागि कानुनी अनुपालन र नवप्रवर्तनको प्रस्तुति कौशल जस्ता विषयमा ज्ञान तथा सीप हासिल गरे।
कार्यक्रम अवधिभर सहभागीहरूले SecurityPal, CYAN Innovations, reAlpha Nepal, Fusemachines, Vidhi Legal Concern, Leapfrog तथा Product Vidhyalaya लगायतका अग्रणी कम्पनीका विशेषज्ञ तथा इकोसिस्टम साझेदारहरूसँग प्रत्यक्ष संवाद र सहकार्यको अवसर पाए। ती विज्ञहरूले मेन्टरशिप, प्रस्तुति तथा प्रतिक्रिया सत्रमार्फत सहभागीहरूलाई महत्वपूर्ण सुझाव तथा सहकार्यका अवसर प्रदान गरेका थिए।
युथ इनोभेसन ल्याब कन्सल्ट प्रा.लि.ले भविष्यमा पनि सहभागी नवप्रवर्तकहरूलाई सल्लाह–परामर्श, नेटवर्किङ अवसर तथा FutureFront Demo Day का लागि तयारीमा निरन्तर सहयोग गर्ने जनाएको छ।