काठमाडौं । विदेशस्थित ३५ नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले उपचारका रूपमा एक वर्षमा २३ करोड ९९ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा उनीहरूले उपचार शीर्षकमा उक्त रकम खर्च गरेका महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
“संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग न्युयोर्क, नेपाली राजदूतावास वासिङटन डीसी, नेपाली राजदूतावास रियाद, नेपाली राजदूतावास अबुधाबी, नेपाली महावाणिज्यदूतावास न्युयोर्कलगायत ३५ नियोगले औषधि उपचार खर्च शीर्षकमा २३ करोड ९९ लाख २४ हजार रुपैयाँ खर्च गरेका छन्,” प्रतिवेदनमा भनिएको छ ।
कूटनीतिक कर्मचारी तथा उनीहरूका आश्रित परिवारको स्वास्थ्य बिमाबापतको रकम तथा बिमा नभएको खण्डमा मन्त्रालयको पूर्वस्वीकृति लिई उपचार गराउँदा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था छ ।
कर्मचारी र आश्रित परिवारको स्वास्थ्य बिमा गर्नुपर्ने तथा बिमा कम्पनीले उपचारको कुनै रकम नव्यहोरेको अवस्थामा एकपटकमा २० हजार रुपैयाँसम्म नियोगले औचित्य हेरी शोधभर्ना दिन सक्ने पनि व्यवस्था छ ।
सोभन्दा बढी रकमको हकमा त्यस्तो उपचार गराउनुपर्नाको कारण र बिमा कम्पनीले नव्यहोरेको विवरण समेत खुलाई नियोग प्रमुखले सिफारिससहित शोधभर्नाका निम्ति परराष्ट्र मन्त्रालयमा लेखी पठाउनुपर्ने हुन्छ । यसरी पठाएकामा मन्त्रालयको निर्णयबमोजिम गर्नुपर्ने व्यवस्था छ ।
“नियोगहरूले स्वास्थ्य बिमापश्चात् पनि मन्त्रालयको स्वीकृति लिई तथा नलिई औषधि उपचार खर्च गरेको देखिएकोले औषधि उपचार खर्च सम्बन्धमा स्पष्ट नीति र मापदण्ड तर्जुमा गरी यस्तो खर्चलाई मितव्ययी बनाउनुपर्दछ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।