Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको वायु घटाउन विश्व बैंकको ७ अर्ब ७ करोड ऋण

नेपालको वायु घटाउन विश्व बैंकको ७ अर्ब ७ करोड ऋण


काठमाडौं । विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधारका लागि सात अर्ब सात करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ। उक्त रकम ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ नामक परियोजना सञ्चालन गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको सन्दर्भमा उक्त परियोजना सञ्चालन गर्न ऋण अनुमोदन गरिएको हो। परियोजना विशेषगरी वायु प्रदूषणको जोखिम अत्यधिक रहेको काठमाडौं उपत्यका तथा तराईका केही औद्योगिक क्षेत्रमा केन्द्रित रहने जनाइएको छ।

विश्व बैंकका अनुसार नेपालका ठूला सहरहरू, विशेषगरी काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ। सवारी साधनको अत्यधिक प्रयोग, औद्योगिक धुँवा, निर्माण गतिविधि तथा इन्धनको प्रयोगका कारण वायु गुणस्तर खस्कँदै गएको बताइएको छ। यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ अन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित वा कम प्रदूषण उत्सर्जन गर्ने प्रविधिमा रूपान्तरण गरिने योजना रहेको छ। उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग गर्न प्रोत्साहन दिइने र प्रदूषण नियन्त्रणका लागि आवश्यक प्रविधि तथा व्यवस्थापन प्रणाली लागू गरिने परियोजनाको मुख्य लक्ष्य रहेको बताइएको छ।

परियोजनाको कार्यान्वयन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागमार्फत गरिनेछ। साथै वन तथा वातावरण मन्त्रालय र वातावरण विभागले पनि यसमा सहकार्य गर्नेछन्। सम्बन्धित निकायहरूले औद्योगिक क्षेत्रको निगरानी, प्रदूषण नियन्त्रणका उपाय तथा वातावरणीय मापदण्ड कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। परियोजनाअन्तर्गत उद्योगहरूलाई प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न सहयोग गरिनुका साथै स्वच्छ उत्पादन प्रणाली अपनाउन प्रोत्साहन गरिने जनाइएको छ। यसका अतिरिक्त वायु गुणस्तर अनुगमन प्रणालीलाई पनि थप सुदृढ बनाइनेछ। विश्व बैंकका अनुसार यो परियोजनाले प्रदूषण घटाउनुका साथै आर्थिक विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ। स्वच्छ प्रविधि प्रयोगले उद्योगहरूको उत्पादन क्षमता र दक्षता पनि बढाउने विश्वास गरिएको छ।

सरकारले पनि पछिल्ला वर्षहरूमा वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा प्रदूषण नियन्त्रणका लागि सवारी साधनको परीक्षण, धुँवा परीक्षण तथा औद्योगिक उत्सर्जन नियन्त्रणका प्रयास भइरहेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालन हुने यो परियोजनाले नेपालमा वायु प्रदूषण नियन्त्रणका प्रयासलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। परियोजनाले वातावरणीय संरक्षणका साथै जनस्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ