काठमाडौं । कुवेतले भिजिट भिसामा रहेका नेपालीसहित विदेश सबैको भिसा एक महिनाको लागि थप गर्ने निर्णय गरेको छ । अमेरिका/इजरायल र इरानबीचको युद्धका कारण हवाइ उडान अवरुद्ध भएपछि कुवेत सरकारले यस्तो निर्णय गरेको हो ।
“कुवेत सरकारले कुवेतमा रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाको लागि थप गरेको, कुवेतबाहिर रहनुहुने कुवेतको सिभिल आईडीवाहकहरूको हकमा विगतको कम्पनीमा काम गर्नेहरूको हकमा ६ महिना र घरेलु कामदारहरूको हकमा चार महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी/दुई हुने व्यवस्थालाई परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा तीन महिनाको अवधि थप गरेको,” कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसरी थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको दूतावासले जनाएको छ । यसबाहेक अन्य सबै भिसावाहकहरूको हकमा आफ्नो भिसाको अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसाको अवधि नवीकरण गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
नेपाली दूतावासले कुवेतको आधिकारिक निकायहरूबाट प्रेसित हुने समाचार/निर्देशन/सूचनाबमोजिम सजग रहन पनि भनेको छ ।
कुवेतको हवाई क्षेत्र खुलेपश्चात् मात्र नियमित उडान सुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका लागि नागरिक उड्डयन निर्देशनालयको वेबसाइट हेर्न दूतावासले आग्रह गरेको छ ।