Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी : बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे। 

बुबाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गरेका थिएनन्। १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास सफल भएको भन्दै घिमिरेले खुशी व्यक्त गरे। 

सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए। नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरेर आवेदन दिएका थिए। 

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महशुस भएको सुवासले प्रतिक्रिया दिए। शारीरिक रूपमा अपाङ्गतासमेत भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका थिए।

सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बसेका छन्।। सुवास कमलाका कान्छा छोरा हुन्। हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाएका छन्। साइला छोराले भने अझै नागरिकता पाएका छैनन्। 

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका-५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो। 

थप केहीले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेश गरेका छन्। प्राप्त भएको आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताए।