Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोर्खाभर्तीबारे नेपालको निर्णय पर्खिरहेको भारत

गोर्खाभर्तीबारे नेपालको निर्णय पर्खिरहेको भारत

काठमाडौँ  -  भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोर्खा भर्ती प्रक्रियाबारे नेपालको धारणा पर्खिरहेको बताएका छन्। 

उनले अहिले देखिएको समस्या अस्थायी भएको भएको भन्दै नेपालले निर्णय लिनेबित्तिकै यो पुनः शुरु हुने बताएका छन्।  मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल–भारत सम्बन्धलाई शताब्दीऔंको निरन्तरताका रूपमा व्याख्या गर्दै गोरखा सैनिकबारे हाल देखिएका असमझदारी छिटै हल हुने बताए। 

उनले दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभई शताब्दीयौंको साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्दै आपसी सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखे।

उनले अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रस्ट पार्दै यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न आग्रह गरे। उनले अग्निवीर योजनालाई ‘सेटब्याक’ नभई युवाहरूका लागि अवसरका रूपमा व्याख्या गर्दै नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया सुचारु हुने र गोरखाहरू भारतीय सेनाको अभिन्न अंग बनिरहने दाबी गरे। नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि भारतसँगको कनेक्टिभिटीका कारण व्यावहारिक रूपमा एक ‘सामुद्रिक राष्ट्र’ नै भएको उनको भनाइ छ। 

उनले भने, ‘गोर्खाहरू दुई शताब्दीदेखि भारतीय सशस्त्र बलको अभिन्न अंग रहँदै आएका छन्। स्वतन्त्रता पछि उनीहरूका लागि आउन र भर्ती हुन सधैं खुला प्रवाह रहँदै आएको छ। अग्निवीरको पक्षलाई फेरि पछाडि फर्केर हेर्नुपर्छ। भारतमा सन् १९७५ पछि यसमा परिवर्तन आयो र यो गोर्खाहरूमा पनि लागू भयो। यसलाई युवाहरूलाई कलिलो उमेरमा ल्याउने, प्रयोग गर्ने, तालिम दिने, शिक्षा दिने, सक्षम बनाउने र त्यसपछि उनीहरूलाई नागरिक समाजमा बलियो सदस्यको रूपमा फिर्ता पठाउने रूपमा हेरिन्थ्यो। म पक्का छु– जब ती सम्बोधन हुनेछन्, हामी शताब्दीयौंदेखि चलिआएको पुरानै तरिकामा फर्कनेछौं र यो निरन्तर रहनेछ ।’

 ‘सागरमाला’ परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटीमा सुधार भएको र यसले नेपालको सामान ढुवानीको समय घटाएर व्यापारमा सहजीकरण गरेको उनको दाबी छ ।