Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुबईबाट प्रेमीलाई बोलाएर पति र सासुको हत्या

दुबईबाट प्रेमीलाई बोलाएर पति र सासुको हत्या

काठमाडौँ । बाराको परवानीपुर गाउँपालिकामा तीन दिनअघि घटेको दोहोरो हत्या घटनामा विवाहेत्तर सम्बन्ध मुख्य कारण बनेको निष्कर्षमा प्रहरी पुगेको छ। धारिलो हतियार प्रहार गरी एक महिला र उनका छोरा हत्या गरिएको उक्त घटनामा मृतक परिवारकै बुहारी र उनको परपुरुष साथीको संलग्नता देखिएको भन्दै प्रहरीले दुवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

माघ १४ गते राति परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा ४६ वर्षीया सुमित्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। सोही घटनामा मृतक महिलाका पति ५० वर्षीय जगरूप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका थिए। जगरूप मण्डलको अवस्था चिन्ताजनक रहेको र उनको वीरगन्जस्थित एसएल न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतक राम ईश्वर मण्डलकी पत्नी २३ वर्षीया मनिता देवी मण्डल र बाराको प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुक घटनामा संलग्न देखिएका छन्।

दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। मनिता पनि घटनामा सामान्य घाइते भएकी थिइन्। प्रहरीका अनुसार मनिता र धर्मेन्द्रबीच लामो समयदेखि विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ। सोही सम्बन्धका कारण घरायसी विवाद बढ्दै जाँदा योजनाबद्ध रूपमा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो। अनुसन्धानका क्रममा मनिताकै योजनाअनुसार घटना घटाइएको प्रमाण फेला परेको डीएसपी पण्डितले जानकारी दिए। 

धर्मेन्द्र महतो वैदेशिक रोजगारीका लागि यूएई गएका थिए। प्रहरी अनुसन्धान अनुसार उनी मनितासँग मिलेर बनाइएको योजनाअनुसार घटना हुनुभन्दा दुई दिनअघि मात्रै नेपाल फर्किएका थिए। माघ ११ गते यूएईबाट काठमाडौं आएका महतोले आफ्ना घरपरिवारका सदस्यलाई समेत आफू नेपाल आएको जानकारी दिएका थिएनन्। काठमाडौं आइपुगेपछि उनी सिधै बाराको परवानीपुर पुगेर मनितासँग सम्पर्कमा आएका थिए। 

योजनाअनुसार माघ १४ गते राति करिब २ बजेतिर महतो चक्कु लिएर घटनास्थल पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही क्रममा सुमित्रा मण्डल शौचालय जान निस्कँदा मनितासमेत साथमै निस्किएको र घरबाहिरै सुमित्रामाथि चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। सुमित्राको शव शौचालय नजिकै फेला परेको थियो। राम ईश्वर मण्डलको शव भने घरको प्यासेजमा भेटिएको थियो।

घटनाका क्रममा जगरूप मण्डल र उनकी छोरी रिनामाथि पनि आक्रमण भएको थियो। चक्कु प्रहारबाट जगरूप गम्भीर घाइते भएका छन् भने छोरी रिना पनि उपचाररत छिन्। पतिसँगै सुतेकी मनिता भने सामान्य घाइते मात्र भएपछि प्रहरीले उनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो। हत्या भएपछि परिवारका अन्य सदस्यहरूले तुरुन्तै घटनाबारे थाहा नपाएका 

कारण बिहान एक बालकले छिमेकीलाई जानकारी गराएपछि मात्र गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले घटनाको प्रकृति गम्भीर रहेको ठहर गर्दै तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान सुरु गरेको थियो। घटनापछि धर्मेन्द्र महतो भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा बाराकै विश्रामपुर गाउँपालिका–४ बाट पक्राउ परेका थिए। मनितालाई भने उपचारपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिए। प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य पक्षहरूबारे समेत अनुसन्धान जारी रहेको छ।