काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मिति दुई साता पछि सारिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा करिब १२ दिन पछाडि सारेको हो।
गत वर्ष एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। बोर्डका अनुसार निर्वाचनका लागि मतपत्र तथा परीक्षाका प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रबाट नै छपाइ हुँदै आएकाले तालिकामा परिमार्जन गर्नुपरेको हो। मतपत्रको छपाइ सम्पन्न भएपछि मात्र एसईईका प्रश्नपत्र छाप्ने तयारी बोर्डले गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार एसईई परीक्षा चैतको पहिलो सातादेखि सुरु हुनुपर्ने भए पनि पूर्वतयारी, सुरक्षा अवस्था तथा निर्वाचनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर परीक्षा पछाडि सारिएको स्रोतले जनाएको छ। चुनावका कारण केही दिन पठन–पाठन प्रभावित हुने, साथै सुरक्षासम्बन्धी तयारी आवश्यक पर्ने भएकाले मिति सारिएको बोर्डका अधिकारीहरूले बताएका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतका विषयको परीक्षा हुनेछ। यसपटक एसईई परीक्षामा करिब पाँच लाख १७ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। नियमिततर्फ चार लाख ५२ हजार हाराहारी विद्यार्थी सहभागी हुनेछन् भने ग्रेडवृद्धि तथा पुरानोतर्फ करिब ६५ हजार पाँच सय विद्यार्थी सहभागी हुनेछन्। गत वर्ष चैतको पहिलो सातादेखि सुरु भएको एसईईमा करिब पाँच लाख १५ हजार विद्यार्थी सहभागी भएका थिए।
फागुनमा हुने निर्वाचनका कारण एसईई मात्र नभई विद्यालय तहका अन्य कक्षाका परीक्षाहरूमा पनि प्रभाव पर्ने देखिएको छ। धेरै विद्यालयलाई मतदान केन्द्र बनाइने भएकाले परीक्षाको तालिका प्रभावित हुने अधिकारीहरूले बताएका छन्। हाल विद्यालय तहको अन्तिम परीक्षाको समय रहेकाले त्यसमा समेत असर पर्ने देखिएको छ।
यसअघि पनि विद्यालयहरूमा मतदान केन्द्र राखिँदै आएको थियो। विद्यालय तहका धेरैजसो पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रमै छापिने भएकाले निर्वाचनका मतपत्र, परीक्षाका प्रश्नपत्र र पाठ्यपुस्तक छपाइ एकसाथ हुँदा शैक्षिक क्यालेन्डर प्रभावित हुने भएको हो। यससँगै लोकसेवा आयोगका केही परीक्षाहरूमा समेत प्रभाव पर्न सक्ने आकलन गरिएको छ।