Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अध्ययन बिदा लिएर सेवामा नफर्किएकालाई त्रिविको १५ दिने अल्टिमेटम

अध्ययन बिदा लिएर सेवामा नफर्किएकालाई त्रिविको १५ दिने अल्टिमेटम

काठमाडौं । अध्ययन बिदा लिएर उच्च शिक्षा पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरी जागिर छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो। तोकिएको समयभित्र सम्पर्कमा नआए कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र विश्वविद्यालयको सक्रियतामा उक्त प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

विश्वविद्यालयले अध्ययन बिदा दक्ष र अनुसन्धानमुखी जनशक्ति उत्पादनका लागि प्रदान गरिने विशेष सुविधा भए पनि केही प्राध्यापकले अध्ययनपछि सेवामा नफर्किँदा आर्थिक तथा शैक्षिक क्षति पुगेको जनाएको छ। बाँकी रकम असुली र सेवा दायित्व कार्यान्वयनको प्रक्रिया निरन्तर जारी रहने त्रिविले स्पष्ट पारेको छ।