Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनपथ र एपीएफलाई डेढलाख निर्वाचन प्रहरी भर्ना गर्न अनुमति

जनपथ र एपीएफलाई डेढलाख निर्वाचन प्रहरी भर्ना गर्न अनुमति

काठमाडौं  । सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । 

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी मापदण्ड स्वीकृत गरेको हो ।

१० दिन तालिम र ३० दिन कार्यस्थलमा खटिने गरी निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।

भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवा सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार दिइनेछ ।

रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिकै बैंक खातााम उपलब्ध गराइनेछ। 

म्यादी छनोटपछि आउने र जाने तयारी खर्चअन्तर्गत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइनेछ।

पोसाक भत्ता हिमाल, पहाड र तराई र मधेशअनुसार फरक फरक हुने उल्लेख छ । नेपाल प्रहरीका लागि नीलो डांग्री कपडा, टोपीसहितको हुनेछ। 

सशस्त्र मातहत खटिने निर्वाचन प्रहरीको हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी हुनुपर्नेछ। 

निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने जनशक्तिलाई निर्वाचन प्रहरीलाई दिएसरह १२ सय रुपैयाँ खाजा खर्च दिइनेछ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति रहने मापदण्डमा उल्लेख छ। 

छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्रको हकमा सशस्त्रको जिल्लास्थित गण र गुल्ममा निवेदन दिन सकिनेछ।

नियुक्तिका लागि दुवै प्रहरीले आफ्नो जवानसरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय हुने मापदण्डमा उल्लेख छ । 

१८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन प्रहरी भर्नासम्बन्धी मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए ।