सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङमा गएको शुक्रबार (पुस १८) स्थानीय र प्रहरीबीच झडप हुँदा हालसम्म स्थिति सामान्य भएको छैन ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार, स्थितिलाई सामान्य बनाउन शनिबार छलफल भएको थियो । छलफलमा स्थानीय र प्रहरीबीच सहमति हुन सकेन ।
प्रहरी र स्थानीयबीच झडप हुँदा त्रिपुरासुन्दरी नगरपालिका–५, ल्हाँ निवासी जुन रोकाय बेपत्ता भएका थिए । रोकाय हालसम्म सम्पर्कमा छैनन् । बेपत्ता रोकायको स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, आइतबार सशस्त्र प्रहरीको गोताखोर टोलीसहितले फेरि बेपत्ता रोकायाको खोजी कार्य जारी राख्नेछ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख खड्काले आफन्तको भनाइलाई उद्धृत गर्दै भने, “उहाँ ठूलीभेरी नदीमा बेपत्ता भएको हुन सक्ने आफन्तको अनुमान छ त्यहाँ खोजतलासको लागि आज सशस्त्र प्रहरीको गोताखोर टोलीसहित रोकायाको खोजी कार्य हुँदै छ ।”
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, त्रिपुरासुन्दरी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय करबगाडको टोलीलाई लागुऔषध ओसारपसारको सूचना आयो । प्रहरीले लागुऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनी बेपत्ता हुनासाथ स्थानीय र प्रहरीबीच झडप भयो । उक्त झडपमा परेर केही प्रहरी सामान्य घाइते भएको खड्काले जानकारी दिए । उनका अनुसार, बेपत्ता रोकाय हालसम्म सम्पर्कमा छैनन् ।