काठमाडौँ । आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना स्वस्थानी व्रत एवम् कथाबाचन गरिन्छ ।
स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । साथै विभिन्न शक्तिपीठको पूजा गरिन्छ ।
स्वस्थानीमा वर्णन गरिएको काठमाण्डौ साँखुको शालिनदीमा आजैदेखि एक महिनासम्म माधवनारायण मेला शुरू भएको छ । काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी क्षेत्रमा रहेको साँखुको शालिनदीमा अबको एक महिना मेला हेर्न तथा माघस्नान गर्न दर्शनार्थीको घुईंचो लाग्ने गर्छ ।