Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मालाखेतीको ‘गडबडी’ प्रकरण : इन्स्पेक्टर दानसिंह भण्डारीसहित ८ जनाको बयान लिइयो

मालाखेतीको ‘गडबडी’ प्रकरण : इन्स्पेक्टर दानसिंह भण्डारीसहित ८ जनाको बयान लिइयो

काठमाडौं । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतिका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारीसहितका केही प्रहरीमाथि भरुवा बन्दुक बरामद प्रकरण संकास्पद देखिएपछि छानविन चलिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरी भण्डारीसहित संलग्न प्रहरी कर्मचरीमाथि विस्तृत छानबिन गरिरहेको हो ।

इन्स्पेक्टर भण्डारी मालाखेतिमा कार्यरत रहँदा प्रहरी प्रधान कार्यालयमा उनीविरुद्ध वेनामे उजुरी परेको थियो । उजुरीअनुसार, प्रहरीले स्याउलेस्थित एक घरमा छापा मार्दा भरुवा बन्दुकसँगै वन्यजन्तुका छाला र सिङ्ग समेत बरामद गरेको थियो ।

तर उक्त सामग्रीपछि पैसा असुलेर गायब पारिएको आरोप भण्डारीसहित प्रहरीमाथि लागेको छ । इन्स्पेक्टर भण्डारी त्यसबेला मालाखेतिको मुद्धा शाखामा कार्यरत थिए ।

उनीमाथि हिरासतमा कुटपिट, मुद्दामा आर्थिक असुली गरेकोजस्ता आरोप वेनामे उजुरीमा लगाइएको थियो । यही आरोपका आधारमा प्रहरी प्रधान कार्यालयमा परेको उजुरीपछि प्रदेश प्रहरीले थप गम्भीरताका साथ छानबिन सुरु गरेको हो ।

घटना सार्वजनिक भएपछि प्रारम्भिक रुपमा इलाका प्रहरी कार्यालय मालाखेतिका डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर सो समितिले घटनालाई ढाकछोप गर्दै प्रदेश प्रहरी कार्यालयलाई प्रतिवेदन बुझाएको आरोप लागेको थियो ।

यद्यपी प्रकरण संवेदनशील र गम्भीर बन्दै गएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नै समिति बनाएर छानबिन अघि बढाएको हो । स्रोतका अनुसार हालसम्म ८ जनाभन्दा बढी व्यक्तिहरूसँग बयान लिइसकिएको छ ।

छानबिन समितिले बरामद सामग्री, नियन्त्रणमा लिइएको प्रमाण, कार्यविधि तथा घटना घटेको समयमा कार्यरत प्रहरीको भूमिका सबै कोणबाट अध्ययन गरिरहेको बताइन्छ । छानबिन अन्तिम चरणमा पुगेको छ ।

स्रोतका अनुसार घटनामा संलग्न पाइनेहरूलाई आन्तरिक अनुशासन तथा कानुनी दुवै प्रकृयामार्फत कारबाही गर्ने तयारी भइरहेको छ । हाल इन्स्पेक्टर भण्डारीको इलाका प्रहरी कार्यालय साँफेबगरमा सरुवा भइसकेको छ ।