Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ।

मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ। 

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँसहितको टोलीले मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो। 

“मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफैँ भत्काउन सुरु गर्नुपरेको थियो”, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र ‘फिनिसिङ’ राम्रो बनाउन निर्देशन दिएका छौँ।”

बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो।